यमनका सरकारी भवन विद्रोहीको कब्जामा

868
views

एजेन्सी एडेन, १६ माघ । दक्षिण यमनका पृथकतावादीहरूले एडेन सहरका सरकारी भवनहरू कब्जामा लिएका छन् । सरकारी भवन कब्जा गरेको स्थान यमनको मुख्य बन्दरगाह सहर हो । लगातार दुई दिनको प्रयासपछि पृथकतावादीहरूले सरकारी भवन नियन्त्रणमा लिएको अन्तर्रा्ष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् । सरकारी सुरक्षाकर्मीहरूले भवन फिर्ता लिन विद्रोहीसँग युद्ध लडिरहेका छन् ।

सरकारी सेना र पृथकतावादीबीच भएको झड्पमा दर्जनौँ सर्वसाधारण मानिस मारिएका छन् । साथै दुवै पक्षमा ठूलो नोक्सानी भएको एजेन्सीहरूले दाबी गरेका छन् । अहिलेसम्म कति संख्यामा व्यक्तिहरू हताहत भएको भन्ने एकिन भएको छैन । वर्तमान यमनी सरकारलाई साउदी अरबले समर्थन गरेको छ । यमनका प्रधानमन्त्री अहमद विन डागरले एडेनमा पृथकतावादीहरूले सत्ता हातमा लिन खोजेको दाबी गरेका छन् । ‘सत्ता हातमा लिन पृथकतावादीहरूले सकारी भवन कब्जा गरेका छन्, यसका साथै सर्वसाधारणलाई ढालका रूपमा प्रयोग गरिएको देखिन्छ,’ प्रधानमन्त्री अहमदले भने । हादी सरकारको अस्थायी आधार क्षेत्रका रूपमा बन्दरगाह सहर एडेन रहेको छ ।

शान्तिपूर्ण प्रदर्शन विफल
दक्षिण यमनका विद्रोहीहरूले केही दिनअघि शान्तिपूर्ण प्रदर्शन गर्न सरकारसँग अनुमति लिएका थिए । तर, सरकारले शान्तिपूर्ण प्रदर्शन गर्नमाथि रोक लगायो । आफूहरूलाई शान्तिपूर्ण प्रदर्शन गर्न नदिइएका कारण विद्रोहीहरूले सरकारी भवनमै आक्रमण गरी कब्जा जमाएको जनाइएको छ । विद्रोहीहरूले सरकारको निर्देशन पालना नगरेपछि साउदी अरब गठबन्धनअन्तर्गत सरकारी सेना र विद्रोहबीच सुरमा दक्षिण यमनमा झडप भएको थियो । हिंसात्मक रूप लिएको विद्रोहीहरूले सरकारी भवनमा एकैपटक आक्रमण गरेका थिए ।

दक्षिण यमनलाई स्वतन्त्र बनाउने प्रयास
सन् १९९० मा यमन देश बनेको हो । त्यस समयमा उत्तर र दक्षिण यमन मिलेर वर्तमान यमन देश बनेको हो । तर, पृथकतावादीहरूले पुरानै दक्षिण यमन अलग देश होस् भन्ने चाहेका छन् । दक्षिण यमन स्वतन्त्र बनाउन उनीहरूले निरन्तर रूपमा एडेन सहरमा आक्रमण गरिरहेका छन् । दिनप्रतिदिन एडेन सहरमा हिंसात्मक गतिविधि बढिरहँदा स्थानीय जनता मानसिक रूपमै कमजोर बनेको एजेन्सीहरूको भनाइ छ ।