‘उत्तर कोरियाबाट अमेरिकालाई अझै खतरा’

653
views

एजेन्सी/वासिङ्टन, १८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका लागि उत्तर कोरिया अझै पनि खतरा भएको बताएका छन् । मंगलबार अमेरिकावासीलाई सम्बोधन गर्दै ट्रम्पले सो धारणा राखेका हुन् । कोरियाली प्रायद्वीपमा उत्तर कोरिया र दक्षिण कोरियाबीच सम्बन्ध सुधारको प्रयास भइरहेका वेला ट्रम्पको उत्तर कोरियाप्रति सो धारणा आएको हो । ट्रम्पले उत्तर कोरियाले विश्व समुदायको अनुरोधलाई बेवास्ता गर्दै गैरजिम्मेवार ढंगले आणविक क्षेप्यास्त्र बनाइरहेको पनि आरोप लगाए । उसको क्षेप्यास्त्रले अमेरिकाको कुनै भू–भागलाई लक्ष्य बनाउन सक्छ,’ ट्रम्पले भने । ६ महिनाअघि उत्तर कोरियाली नेता किम जोङ उनले उत्तर कोरियाले कुनै पनि वेला अमेरिकामा आक्रमण गर्ने धम्की दिएका थिए । जवाफमा ट्रम्पले प्योङयाङलाई अमेरिकाले ध्वस्त बनाउने चेतावनी दिएका थिए ।

आणविक अस्त्र रोक्न ठूलो पहल
अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको आणविक होड रोक्न आफूहरूले ठूलो पहल गरेको बताए । ‘अमेरिका र उसको गठबन्धन राष्ट्रहरूले उत्तर कोरियाको आणविक होड रोक्न निकै ठूलो पहल गरेको छ । विश्व समुदायको आग्रहविपरीत उसले बारम्बार आणविक क्षेप्यास्त्र प्रहार गरेको छ,’ ट्रम्पले भने, ‘उत्तर कोरियाको सम्भावित त्रास हटाउन र हतियारको होडबाट कुनै पनि अप्रिय घटना हुन नदिन हदैसम्मको प्रयत्न गरिरहेका छौँ, तर उत्तर कोरियाले कसैको कुरा सुनेको जस्तो लागेको छैन, जुन उसको मूर्खता मात्र हो ।’
रसिया र चीनको विरोध
सम्बोधनका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले रसिया र चीनको पनि विरोध गरे । ट्रम्पले रसिया र चीनले अमेरिकी चाहना, अर्थतन्त्र र मूल्य मान्यताहरूलाई चुनौती दिइरहेको आरोप लगाए ।

परम्परागत मित्रराष्ट्रका नाताले उत्तर कोरियाका आणविक गतिविधि रोक्न चीनले पहल गर्नुपर्ने ट्रम्पको भनाइ छ । तीन साताअघि मात्र ट्रम्पले रसियाली समकक्षी भ्लादिमिर पुटिनलाई फोन गरी उत्तरका आणविक गतिविधि रोक्न आग्रह गरेका थिए ।
शरणार्थीका लागि सहयोग गर्न आग्रह
अमेरिकी प्रशासनले विभिन्न ११ देशका शरणार्थीमाथि लगाउँदै आएको प्रतिबन्ध हटाएपछि नयाँ सुरक्षा प्रणालीमा सहयोग गर्नुपर्ने राष्ट्रपति ट्रम्पले बताए । अमेरिकी अधिकारीहरूले सोमबार ११ देशका नागरिकमा अक्टोबरदेखि लगाएको प्रतिबन्ध फुकुवा गरेको बताएका थिए । इजिप्ट, इरान, लिबिया, माली, उत्तर कोरिया, सोमालिया, दक्षिणी सुडान, सिरिया र यमनका नागरिकमाथिको प्रतिबन्ध हटेको थियो । उनीहरूलाई सुरक्षासम्बन्धी नयाँ प्रणाली लागू हुने जनाइएको छ ।
आइएस पराजित नगर्दासम्म लडाइँ जारी
राष्ट्र«पति ट्रम्पले इस्लामिक स्टेट (आइएस) नामक अतिवादी समूहलाई पूर्ण रूपमा पराजित नगर्दासम्म ऊविरुद्धको अमेरिकी लडाइँ जारी रहने बताएका छन् । ‘अतिवादीविरुद्धको काम अझै धेरै छ, उनीहरूलाई पराजित नगर्दासम्म हामीले आइएसविरुद्ध लडाइँ जारी राख्नेछौँ,’ उनले भने । ‘उनीहरूलाई हामी आवश्यक परेको स्थानमा खोज्नेछौँ, लखेट्नेछौँ र हराएरै छोड्नेछौँ,’ राष्ट्रपति ट्रम्पले भने ।
वार्ताको टेबलमा ल्याउन पहल
उत्तर कोरियालाई वार्ताको टेबलमा ल्याउनका लागि अमेरिकाले पहल गरिरहेको ट्रम्पले दाबी गरे । अमेरिकी विदेशमन्त्री र रक्षामन्त्रीले उत्तर कोरियाली नेतालाई वार्ताको टेबलमा ल्याउन प्रयास गरेको बताए । उत्तर र दक्षिण कोरियाबीच हालै भएको द्विपक्षीय वार्तापछि कोरियाली प्रयद्वीपमा शान्तिका संकेत देखिएको उनले बताए ।
यही जनवरी ९ मा उत्तर र दक्षिण कोरियाबीच दुई वर्षपछि पहिलोपटक उच्चस्तरीय वार्ता भएको थियो । दुई वर्षपछि भएको सो वार्तालाई विश्व समुदायले नै चासो दिएको थियो । ट्रम्पले उत्तर कोरिया र दक्षिणबीचको वार्तालाई स्वागत गरे पनि अमेरिका वार्ताप्रति सशंकित भएको विज्ञहरूले बताएका थिए । सोही समयमा उत्तर कोरियासँग वार्तामा बस्न अमेरिकासमेत तयार रहेको बताएका थिए । आगामी महिना दक्षिण कोरियामा आयोजना हुन लागेको शीतकालीन ओलम्पिक खेलमा उत्तर कोरियाको सहभागिता र उक्त खेलको तयारीबारे आवश्यक छलफलका लागि उत्तर र दक्षिणका बैठकहरू कोरियामा बसिरहेका छन् ।