पेट्रोलियम पदार्थको मूल्य वृद्धि

879
views

काठमाडौं २० माघ । आयल निगमले प्रत्येक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिरहेको छ । निगमले गरिरहेको मूल्य वृद्धि रोक्न सरकारले चासो देखाएको छैन । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा पनि सामान्य दरले वृद्धि हुँदा निगमले स्वचालित मूल्य प्रणाली लागू गर्दै मूल्य बढाएको दाबी गरिरहेको छ । निर्वाचनयताको करिव दुई महिनामा निगमले ५ पटक मूल्य बढाइसकेको छ ।

निर्वाचनअघि मूल्य वृद्धि गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल फिर्ता गर्न लगाएका थिए । तर, निर्वाचनपछि आपूर्तिमन्त्री जयन्त चन्दको स्वीकृति लिएर निगम व्यवस्थापले मूल्य वृद्धि गरिरहँदा प्रधानमन्त्री देउवाले चासो दिएका छैनन् ।

निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले भारतीय आयल कर्पोरेसन (आइओसी) बाट मूल्य बढेर आएका कारण नेपाली बजारमा समेत इन्धनको भाउ वृद्धि गर्नुपरेको बताए । ‘आइओसीबाट मूल्य बढेर आएपछि नेपाली बजारमा पनि बढाउनु स्वाभाविक हो। हामी स्वचालित मूल्य प्रणाली लागू गर्न पनि चाहन्छौं,’ उनले भने । मूल्य बढाए पनि निगमले भने घाटा नै खाइरहेको उनको भनाइ छ ।

निगम प्रवक्ता वीरेन्द्र गोइतले बिहीबार मूल्य वृद्धि गरेपछि निगमलाई आगामी १५ दिनसम्म १४ करोड ९२ लाख रुपैयाँ नोक्सान हुने बताए । ‘झट्ट हेर्दा निगमले प्रत्येक १५ दिनमा नयाँ मूल्य सूची पाएपछि मूल्य बढाएर नाफा खाइरहेको छ कि भन्ने लाग्छ, तर हामीले संस्थानलाई नोक्सानमा नै राखेर उपभोक्तामुखी हुने गरी मूल्य समायोजन गरेका छौं,’ गोइतले भने ।