नेपाली सेना जिम्माको काठमाडौँ–तराई–मधेश द्रुतमार्ग निर्माण तिव्र गतिमा

706
views

लेनडाँडा, मकवानपुर, २०, माघ । काठमाडौँ उपत्यकालाई तराईसँग सडक सञ्जालमा जोड्ने सबैभन्दा छोटो ७६ किमी दूरीको मुलुकको आर्थिक विकासको मेरुदण्ड मानिएको दु्रतमार्ग निर्माण आयोजनालाई नेपाली सेनाले इतिहास रच्ने ठूलो अवसरका रुपमा लिएको छ ।

नेपाली सेनाले काठमाडौँ–तराई–मधेश द्रुतमार्ग निर्माणलाई चार बर्षभित्र पूरा गर्ने उद्वेश्यका साथ आफ्नो कामलाई तीव्रता दिएको हो । अहिले पाँच स्थानबाट एकैसाथ काम अघि बढाइसकिएको प्रमुख सेनानी धर्मेन्द्रकुमार झा को भनाई छ ।

मक्खुबेंसी, कुलेखानी, लेडडाँडा, बुदुने र निजगढमा शिविर खडा गरेर रुख कटान गर्ने र हटाउने, सडकको रेखाङ्कन गर्ने र सडक निर्माण गर्ने कार्यलाई अघि बढाइएको छ । त्यस क्रमममा निजगढमा सात किमी क्षेत्रमा २७ मि फराकिलो द्रुत मार्गले एउटा आकार लिइसकेको छ ।

राष्ट्रिय गौरवको द्रुतमार्ग आयोजना निर्माण अघि बढाउन २०० जनशक्ति खटाएर सहायकरथी भरतबहादुर खड्कालाई रुख काट्ने जिम्मेवारी दिइएकामा टोलीले हालसम्म १५ हजार कटान गरी व्यवस्थापनसमेत गरिसकेको छ । झण्डै ११ किमी क्षेत्रमा रुख कटान भएको र अबको तीन महिनाभित्र रुखसम्बन्धी सबै काम पूरा हुने सहायकरथी खड्काले जानकारी दिए ।

उक्त राजमार्गको निर्माण लागत रु एक खर्ब १२ अर्ब अनुमान गरिएको छ । ललितपुरको खोकनाबाट शुुरु भई बाराको निजगढमा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने दु्रतमार्गको ट्र्याक पनि यसअघि सेनाले नै खनेको हो ।

निर्माण छिटो गर्न २४ क्षेत्रमा सडक विभाजन गरेर विदेशी तथा स्वदेशी निर्माण व्यवसायीका लागि बोलपत्र आह्वान गर्ने क्रममा नौ वटाको प्रक्रिया अघि बढिसकेको छ । उक्त आयोजना अघि बढाउने सन्दर्भमा सुरुङ निर्माण र अग्ला सात पुल निर्माणलाई भने सेनाले चुनौतीका रुपमा लिएको छ ।

सडक निर्माणका लागि मात्रै पनि ३०० टन विस्फोटक पदार्थ आवश्यक पर्ने देखिएको छ । दायाँबायाँ ५० मि दिएर जग्गा अधिग्रहण गरिएको २७ मि चौडाइ हुने उक्त राजमार्ग चार लेनको हुनेछ ।