‘पूर्व सांसदहरुको कूटनीतिक पासपोर्ट निष्क्रिय’

856
views

काठमाण्डौ, २१ माघ । संसदको कार्यकाल सकिएको चार महिना पुग्न लाग्दा समेत कतिपय पूर्वसांसदले फिर्ता नगरेको कूटनीतिक राहदानी प्रयोग गर्न नमिल्ने बनाईएको छ । संसदको कार्यकाल सकिएको एक साताभित्रै रातो पासपोर्ट भनिने कूटनीतिक राहदानी लगायत अन्य सर–सामान फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ ।

तर पटकपटक ताकेता गरेपनि पूर्वसांसदले प्रयोग गरेका करिब पाँचसय राहदानीमध्ये झण्डै एक सयवटा फिर्ता नपाएको संसद् सचिवालयले जनाएको छ । कुटनीतिक पासपोर्ट दुरुपयोग हुनसक्ने चिन्ताबीच फिर्ता नभएका राहदानी प्रयोग गर्न नमिल्ने बनाईएको संघीय संसदका प्रवक्ता भरतराज गौतमले बताए । उनले भने, ’जुन प्रयोजनका लागि त्यो कूटनीतिक राहदानी जारी गरिएको हो त्यो फिर्ता गर्नै पर्छ । कतिपय नीति अनुसार नै रद्द भैसकेको छ । त्यो पदमा नरहेपछि स्वतः हाम्रो अध्यागमन प्रणालीवाटै प्रयोग गर्न नसकिने गरी व्यवस्थापन गरिएको छ ।’

अध्यागमन विभागका अनुसार पदमा नरहेका व्यक्तिले कूटनीतिक राहदानीकै भरमा विदेश गएमा कानुनी दायरामा ल्याउन सकिने व्यवस्था रहेको अध्यागमन विभागको भनाई छ । रातो पासपोर्टको प्रयोग नगरेर उहाँहरुसँग भएको प्रयोगमा आउने पासपोर्टमा उक्त भीसालाई सार्न दूतावास मार्फत पहल गर्ने व्यवस्था मिलाएको छ । कूटनीतिक राहदानीमा लामो समयका लागि लागिसकेको प्रवेशाज्ञा अर्को साधारण राहदानीमा सार्न सकिने अध्यागमन विभागका महानिर्देशक दिपक काफ्लेले बताए।

कूटनीतिक राहदानी फिर्ता नगर्नेमा प्रमुख दलका कैयौं प्रमुख नेता समेत रहेको बताइएको छ । हालसम्म अध्यागमन विभागले कार्यकाल सकिएपछि पनि कूटनीतिक राहदानी प्रयोग गरेर विदेश जान खोज्ने विरुद्ध विमानस्थल लगायतका सीमा नाकामा कडाई पूर्वक निगरानी गरिएको बताएको छ । विभागले हालै कार्यकाल सकिएका एकजना पुरुष र एकजना महिला सांसदलाई विदेश उड्नै लाग्दा राहदानी फिर्ता लिएको जनाएको छ ।