बाँसको पोलमा बिजुलीको तार, पोल फेर्न नसक्दा सर्वसाधारणलाई मार

1129
views

सन्दिप पाठक/ पर्वत । यहाँको एउटा गाउँमा स्थानीयले जोखिम मोलेका छन् । फलेवास नगरपालिका–११ साविक पाङराङ सिउरास र लुग्दीका स्थानीयले बिजुलीको पोलको अभावमा बाँसका पोल गाडेर घरघरमा तार लगेका हुन् । फलाम तथा टिनका पोल नपाएपछि बत्ती बाल्न बाँसको पोल गाडेका हुन् । पाङराङ सिउरास र लुग्दीमा विद्युतका सबै पोलहरु काठका छन् । काठका पुराना पोलहरु पनि जीर्ण भएपछि बाँसका पोल गाडेका हुन् । पुराना पोलहरु ढल्दै गएका छन् ।

यहाँका ढलेका काठका पोलहरुमा स्थानीय तह, प्रदेश तथा प्रतिनीधि सभाको निर्वाचनका उमेदवारले समेत राजनीति गरे । चुनाव जित्न सबैले पोल, पानी, सडक ल्याउने प्रतिवद्धता जनाए, कसैले जिते कसैले हारे, न जितेकाले प्रतिवद्धता अनुसारको काम गरे न हारेकाले स्थानीयवासी तुलबहादुर पाठकले भने ‘नगरपालिका, वडा कार्यालय र सामुदायिक विद्युत उपभोक्ता समितिले वेवास्था गरिरहेको छ ।’

अर्का स्थानीयवासी सन्तोष पाठकले पहुँच र पावर नहुँदा स्थानीयले दुर्घटनाको सम्भावनालाई वेवास्था गर्दै बाँसको पोलबाट तार तानेर बत्ति बाल्न वाध्य भएको बताए । यस्तै विष्णुमाया पाठकले समयमा विल भुक्तानी नगरे बढी शुल्क लाग्ने तर स्थानीयले पोलको जीर्ण अवस्था देखाउँदा र पोल माग गर्दा वेवास्था गर्ने हुँदा जीर्ण पोल फेर्न पहल नै नभएको बताईन् ।

सामुदायिक विद्युत राष्ट्रिय उपभोक्ता महासंघ अन्तर्गत पर्वतमा २९ वटा विद्युत समितिहरु महासंघमा आवद्ध रहेको र ति समितिका क्षेत्रमा १४ हजार बिजुलीका पोलहरु काठका रहेकोले पोल फेर्न निकै समस्या रहेको सामुदायिक विद्युत उपभोक्ता समिति साविक पाङराङका अध्यक्ष ध्रुव पाठकको भनाई छ ।

पाठकले फलेवास नगरपालिकाले रकम तथा पोलहरु उपलब्ध गराएमात्र जीर्ण पोलको अवस्था सुधार्न सकिने अन्यथा लाईन काटिदिनुपर्ने समस्या रहेको बताए । स्थानीयले साँझ परेपछी डिम लाईट आउने समस्या समेत रहेको बताएका छन् । कतिबेला दुर्घटना हुने भन्ने त्रास मात्र रहेको स्थानीयको भनाई छ । वडा कार्यालय, फलेवास नगरपालिका सामुदायिक विद्युत उपभोक्ता समितिले पोल फेर्न कुनै पहल नगरेको स्थानीयको गुनासो छ ।