प्रदेश दुईको प्रदेश सभा पहिलो बैठक नै अवरुद्ध

798
views

जनकपुर २१ माघ । प्रदेश दुईको पहिलो बैठकमा आज राजापा सांसदहरुले मधेस आन्दोलनका सहीदको तस्विर माग गर्दै प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् ।

राजपाका मनिष सुमनले मधेश आन्दोलनका सहिदको तस्विर नभएको भन्दै विरोध जनाएपछि बैठकमा हंगामा मच्चिएको थियो । सभामुख आसन अगाडि मधेस आन्दोलनका सहिदको तस्विर राख्नुपर्ने माग गरेका थिए । ‘जनआन्दोलनका सहिद राखिएको ठाउँमा मधेसका सहिदहरुको फोटो राखियोस्’, उनले भने ।

राजपाकै डिम्पल झाले पनि मधेसका सहिदको तस्विर खोई ? किन नरोको भन्दै तस्विर नराखेसम्म बैठक अघि नबढ्ने बताए । त्यसपछि सांसदहरु आ—आफ्नो स्थानबाट उठेका थिए । एमाले सांसदहरुले भने संसद अवरुद्ध गर्न नपाउने बताएका थिए ।

सभामुख ललन चौधरीले अर्को बैठकमा मधेस आन्दोलनका सहिदहरुको तस्विर झुन्ड्याउन रुलिङ गरेपछि बैठक सुचारु भएको थियो । ७७ वर्षीय चौधरीले ज्येष्ठ सदस्यको हैसयितमा बैठक सञ्चालन गरेका हुन् । अर्काे बैठक माघ २९ गतेका लागि बोलाइएको छ ।

प्रदेश सभामा प्राप्त सिट संख्याका आधारमा आइतबार बोल्ने समय उपलब्ध गराइएको थियो । जसअनुसार संघीय समाजवादी फोरम सांसदहरूले सबैभन्दा बढी १४ मिनेट बोल्ने समय पाएका थिए । राजपालाई १२ मिनेट, एमालेलाई १० मिनेट, काँग्रेसलाई ९ मिनेट, माओवादीलाई ६ मिनेट र संघीय समाजवादी पार्टी तथा स्वतन्त्र विधायकलाई ४ मिनेटको दरले बोल्ने समय मिलाइएको थियो ।