तलब नपाएपछि शिक्षकद्वारा विद्यालयमा तालाबन्दी, आम्दानीको स्रोत छैन्–प्रअ

618
views

भीमदत्तनगर २४ माघ । । दश महिनासम्म अध्यापन गरेपनि पारिश्रमिक नपाएपछि यहाँका ६ जना शिक्षकले विद्यालयमा तालाबन्दी गरेका छन् । कञ्चनपुरको लालझाडी गाउँपालिकास्थित बैजनाथ आधारभूत बहुभाषिक विद्यालयमा कार्यरत निजी स्रोतका छ जना शिक्षकले मंगलबार विद्यालयमा तालाबन्दी गरेका हुन् । पारिश्रमिक दिने विषयमा विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनले चाँसो नदिएको भन्दै उनीहरुले तालाबन्दी गरेको बताएका छन् ।

विद्यालयका प्रधानाध्यापक जादुराम रानाले शिक्षकको १० महिनाको करिब पाँचलाख तलब रकम दिन बाँकी रहेको स्विकार गरेका छन् । तर विद्यालयसँग आम्दानीको स्रोत नहँदा तलव दिन नसकिएको बताए ।

पढाइमा बाधा नपुगोस् भनेर निजी स्रोतबाट शिक्षक राख्यौँ, उनले भने– “तलब दिन नसकेपछि शिक्षकले नै तालाबन्दी गरे ।” २५५ जना विद्यार्थी रहेको उक्त विद्यालयमा ८० प्रतिशतभन्दा बढी आदिवासीरजनजाति समुदायको विद्यार्थी अध्ययनरत छन् ।

आम्दानीका नाममा विद्यालयसित रहेको चार बिगाहा जमिन भाडामा दिएपनि थोरै रकम आउने गरेको उनले बताए । ‘शिक्षकलाई वार्षिक लाखौँ रुपैयाँ तिर्नुपर्छ ।’ रानाले भने– “जमिनबाट वार्षिक २५ हजार मात्रै आम्दानी आउँछ ।’