आईसीसी विश्व क्रिकेट लिगः आज नेपाल र ओमानबीच भिडन्त

1010
views

काठमाण्डौ, २६, माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु क्रिकेट अन्तर्गत नेपालले दोस्रो खेलमा आज (शुक्रबार) ओमानको सामना गर्दैछ । नामिबियाको विन्डहकस्थित अफीज पार्कमा खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ ।

पहिलो खेलमा बिहीबार आयोजक नामिबियामाथि एक रनको रोमाञ्चक जित हात पारेको नेपाल ओमान विरुद्ध आज दोस्रो जितको खोजीमा हुनेछ ।

पाँच वर्षअघि ओमानलाई एकदिवसीय खेलमा जित्नु तथा जारी डिभिजन दुईको पहिलो खेलमा ओमानले खराब प्रदर्शन सहित फराकिलो अन्तरले पराजित हुनुले पनि नेपालको जित्ने संम्भावना बलियो देखिन्छ ।

डिभिजन तीनको च्याम्पियन बन्दै ओमान डिभिजन दुई खेल्न आइपुगेको हो । नेपाल भने विश्व क्रिकेट लिग च्याम्पियनसिपमा साँतौ हुँदै डिभिजन दुईमा घटुवा भएको हो ।

क्यानडाले ओमानलाई फराकिलो अन्तरले पराजित गरेका कारण अंकतालिकामा शीर्ष स्थान हासिल गरेको छ । समान २ अंक भएका यूएई दोस्रो र नेपाल तेस्रौ स्थानमा छन् । आयोजक नामिबिया चौथो, केन्या पाँचौ र पुछारमा छ ।