प्रदेश नं ५– सभामुखमा घर्तीको निर्णय

624
views

बुटवल, २९ माघ । नेकपा माओवादी केन्द्रले प्रदेश नं ५ को प्रदेशसभाको सभामुखमा रुकुमका पूर्णबहादुर घर्तीलाई पठाउने निर्णय गरेको छ ।

माओवादी प्रदेश संसदीय दलको बैठकले घर्तीलाई सभामुखसहित संसदीय दलको उपनेतामा प्यूठानका कृष्णध्वज खड्का, दलको प्रमुख सचेतकमा रुपन्देहीका दधिराम न्यौपाने र सचेतकमा दाङकी दामा शर्मालाई बनाउने निर्णय गरेको माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीले जानकारी दिनुभयो ।

यस्तै संसदीय बोर्डको सचिवमा पाल्पाका वसन्त घर्ती छनौटमा परेका छन् । प्रदेश नं ५ मा सरकार निर्माणको प्रक्रिया अघि बढाउन आइतबार नेकपा एमाले र माओवादी केन्द्रका संसदीय दलका नेताले बहुमत प्रदेश सदस्यको समर्थनसहित प्रदेश प्रमुखलाई पत्र बुझाएका छन् ।

यो प्रदेशमा दुवै दलले नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश संसदीय दलका नेता शंकर पोखरेललाई मुख्य मन्त्रीका रुपमा अगाडि सारेका छन् ।

पहिलो चरणमा सानो आकारको मन्त्रिमण्डल निर्माण हुने भएकाले माओवादी केन्द्रको संसदीय दलले मन्त्रिमण्डलमा पठाउने व्यक्ति छनोट गर्ने नेता केसीले जानकारी दिनुभयो ।