दुई नेताको मात्रै व्यवस्थापनले पार्टी एकता सम्भव छैन – नेता नेपाल

801
views

चितवन, २ फागुन । नेकपा एमाले र एमाओवादीका बीचको पार्टी एकताका लागि दुई नेताको व्यवस्थापनले मात्रै सम्भव नरहेको एमाले नेता माधवकुमार नेपालले बताएका छन् ।

चितवनको भरतपुरमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै नेता नेपालले दुई पार्टीमा रहेका नेता, स्थायी कमिटी सदस्यदेखि तल्लो तहका कार्यकर्ताको पनि व्यवस्थापन पछि मात्रै पार्टी एकता गर्नुपर्ने बताए ।

नेता नेपालले दुई नेताको व्यवस्थापन हुँदैमा सिङ्गो पार्टी एकता हुँदैन भन्दै पूर्व प्रधानमन्त्री भइसकेका, पार्टी सञ्चालनको अनुभव लिइसकेका, स्थायी कमिटीमा रहेका र तल्लोस्तरमा रहेका कार्यकर्ता समेतलाई मिलाउनुपर्ने बताए ।

पार्टी एकतामा देखिएका बाधालाई छिटो भन्दा छिटो पन्छाएर पार्टी एकता गर्नु आजको आवश्यकता रहेको उनले बताए । उनले भने–‘पार्टी एकता कहिले गर्ने, पार्टीले कस्तो विचार अवलम्बन गर्ने, दिइएको जिम्मेवारी पूरा नगरे परिवर्तन गर्ने समयमा काम कसरी सम्पन्न गर्ने भन्ने विषयमा छलफल गरेर पार्टी एकता टुंग््याउनु जरुरी रहेको उल्लेख गरे ।

पहिला सरकार गठन गरेर पार्टी एकता हुनुपर्ने भन्दै उनले सरकार गठनका लागि समय आइसकेको बताए । नेता नेपालले काम चलाउ सरकारले गरेका दीर्घकालीन प्रभाव पार्ने सम्पूर्ण निर्णय अब बन्ने सरकारले उल्टाउने दाबी गरे ।