सिरयाली गृहयुद्धः राहत वितरणको बदलामा यौन प्रस्ताव

732
views

एजेन्सी सिउल, १६ फागुन । युद्धग्रस्त सिरियामा राहत र सहयोग वितरण गर्ने व्यक्तिले नै महिलामाथि यौन दुव्र्यवहार गर्ने गरेको पाइएको छ । संयुक्त राष्ट्रसंघ र अन्तराष्ट्रिय समुदायका तर्फबाट सिरियामा सहयोग वितरण गर्ने पुरुषहरूले यौन दुव्यर्वहार गर्ने गरेको बिबिसीले जनाएको हो । पुरुषहरूले राहत सामग्री दिएर यौन सन्तुष्टि लिने गरेको दातृ निकायका कार्यकर्ताहरूले बताएका छन् । तीन वर्षअघि सार्वजनिक गरिएको एक प्रतिवेदनमा पनि सिरियाली महिलामाथि राहत वितरणकर्ताबाटै यौन दुव्र्यवहार गरिएको जनाइएको थियो । सो दुव्र्यवहार अहिले पनि दक्षिणी सिरियामा विद्यमान रहेको बिबिसीले जनाएको छ ।

‘यौन शोषण अस्वीकार्य’
राष्ट्रसंघका निकाय र दातृ संस्थाहरूले सिरियाली महिलामाथि हुने शोषण कुनै पनि बहानामा स्वीकार्य नभएको र सो क्षेत्रमा साझेदार संगठनबाट कुनै दुव्र्यवहार नभएको बताएका छन् । तर, सिरियामा यौन दुव्र्यवहार निकै डरलाग्दो समस्या भएको दातृ निकायका कार्यकर्ताले बताएका छन् । उनीहरूका अनुसार राहत वितरण केन्द्रहरूमा महिला जानसमेत डराउँछन् । राहत सामग्रीको नाममा आफूहरूलाई यौन प्रस्ताव गर्ने गरेको पीडितहरूले बताएका छन् । केही मानवीय निकायले शोषणप्रति बेवास्ता गरेको दातृ निकायका कार्यकर्ताले बताएका छन् । तेस्रो पक्ष र स्थानीय अधिकारीहरूबाट मात्र सिरियाको युद्धग्रस्त क्षेत्रमा सहयोग वितरण सम्भव भएकाले दुव्र्यवहारका घटना वृद्धि भइरहेको साक्षीहरूले बताएका छन् । युद्धप्रभावित क्षेत्रमा अन्तरााष्ट्रिय दातृ निकायका कर्मचारी प्रत्यक्ष रूपमा पुग्न सकेका छैनन् ।

यौनका लागि मानवीय सहयोग आदान–प्रदान
गत वर्ष राष्ट्रसंघको जनसंख्या कोष (युएनएफपिए)ले सिरियाका विभिन्न द्वन्द्व प्रभावित क्षेत्रमा लिंगका आधारमा हुने हिंसाबारे अनुसन्धान गर्दै यौनका लागि मानवीय सहयोग आदान–प्रदान हुने गरेको जनाएको थियो । भ्वाइस फ्रम सिरिया २०१८ नाम दिइएको सो प्रतिवेदनमा भनिएको थियो, ‘खानेकुरा प्राप्तिकै लागि सहयोग वितरण गर्न आउने अधिकारीहरूलाई क्षणिक यौन सन्तुष्टि दिनकै लागि महिला तथा किशोरीहरूलाई छोटो समय विवाह गर्न बाध्य पारिएको थियो । राहत वितरकहरूले युवती र किशोरीलाई सामग्री दिएबापत टेलिफोन नम्बर माग्ने गरेको, केही चिज लिनका लागि उनीहरूलाई घरसम्म लिफ्ट दिने गरेको र उनीहरूसँग रात बिताउने गरेका छन् ।’ पुरुष संरक्षकविनाका महिला तथा किशोरी जस्तै– बिधवा, सम्बन्धविच्छेद गरेका र आन्तरिक रूपमा विस्थापितहरू यौन शोषणका दृष्टिले निकै जोखिममा रहेको सो प्रतिवेदनमा जनाइएको थियो । राहत वितरकले नै यौन दुव्र्यवहार गरेको पहिलोपटक सो समयमा सार्वजनिक भएको थियो ।

प्रस्ताव अस्वीकार गर्नेलाई राहतबाट वञ्चित
दातृ निकायका लागि मानवीय सल्लाहकार डेनिली स्पेन्सले सिरियाली महिलामाथि यौन दुव्र्यवहार हुने गरेको बताएकी छन् । जोर्डनस्थित सिरियाली शरणार्थी शिविरका महिलाबारे उनले अध्ययन गरेकी थिइन् । दारा र क्विनिट्रा क्षेत्रमा खटिएका पुरुष राहत वितरकहरूले आफूहरूमाथि यौन प्रस्ताव गरेको शिविरमा रहेका महिलाहरूले उनलाई बताएका थिए । ‘यौन सन्तुष्टि दिन नचाहने महिलालाई उनीहरूले राहत सामग्री दिन अस्वीकार गरेका थिए । कोही महिलाले राहतका लागि यौन सेवा दिएका थिए भने कतिपय दुःखी बनेर रित्तै फर्केका थिए,’ स्पेन्सरले भनिन् । उनले भनिन्, ‘एक महिला कोठामा रोइरहेकी थिइन् । आफ्नो अस्मिता लुटिँदा उनी चिन्तित थिइन् । खाद्यान्न, साबुन र अन्य आधारभूत सुविधा लिँदा युवती र किशोरीलाई रक्षा गर्नुपर्छ ।’

सन् २०१५ मा अन्तराष्ट्रिय उद्धार समिति (आइआरसी)ले दारा र क्विनिट्राका १९० महिला र किशोरीमाथि सर्वेक्षण गरेको थियो । आइआरसीका अनुसार राहत लिन पुगेका ४० प्रतिशत महिलामाथि यौन दुव्र्यवहार भएको थियो । आइआरसीका प्रवक्ताले भने, ‘यौनहिंसा चौतर्फी चासोको विषय हो ।’

युद्धविरामपछि पनि सेनाको हमला
विद्रोहीनियन्त्रित पूर्वी सहर गुटा र वरपरको क्षेत्रमा मंगलबार सिरियाली सरकारले गरेको रकेट आक्रमणमा एकजनाको मृत्यु भएको छ । राष्ट्रसंघको सुरक्षा परिषद्को प्रस्तावअनुसार युद्धविराम घोषणा गरिए पनि सिरियाली सरकारले हवाई कारबाही जारी राखेको छ ।

मानवीय सहयोगका लागि युद्धविराम घोषणा गरे पनि सिरियाली राष्ट्रपति बसर अल असद सरकारले मंगलबार पनि हवाई कारबाही गरेको सिरियाको मानवअधिकार अनुगमन गरिरहेको संस्थाले जनाएको छ । बेलायतस्थित सिरियाली मानवअधिकारवादी संस्थाको द्वन्द्व अनुगमन समूहले युद्धविराम घोषणापछि सेनाको कारबाहीमा एक बालकको मृत्यु र अन्य सातजना घाइते भएको जनाएको छ ।

पाँच घन्टा हवाई कारबाही बन्द
सिरियाको पूर्वी भागमा पर्ने गुटामा दैनिक पाँच घन्टा मात्र हवाई कारबाही बन्द गर्ने सहमति भएको छ । गत सातादेखि सेनाले गरेको कारबाहीमा सयौँ सर्वसाधारणको मृत्यु भएपछि रसिया सरकारले मंगलबारबाट पाँच घन्टा हवाई हमला रोक्ने निर्णय गरेको हो । गुटामा दैनिक पाँच घन्टा सैनिक हमला बन्द गरिने रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले जानकारी दिए । हवाई हमलामा मारिएका सर्वसाधारणमा एकचौथाइ बालबालिका छन् ।

शान्ति प्रस्ताव तत्काल कार्यान्वयन गर
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेजले द्वन्द्वसँग जोडिएका सबै पक्षलाई शान्ति प्रस्ताव तत्काल कार्यान्वयन गर्न आग्रह काल कार्यान्वयन गरपरिषद्को शान्ति प्रस्ताव प्रभावकारी रूपले कार्यान्वयन गरे मात्रै यसको अर्थ हुन्छ,’ गुटेरेजले भनेका छन् । राष्ट्रसंघीय मानवअधिकार परिषद्को ३७औँ बैठकमा महासचिव गुटेरेजले भने, ‘सिरियालाई पृथ्वीको नरक बनाउने कार्य तत्काल रोक्नु अत्यावश्यक छ ।’

शान्ति प्रस्ताव तत्काल कार्यान्वयन हुन्छ भन्नेमा आफू विश्वस्त रहेको उनले बताए । उनले मानवीयता, मानवअधिकारसम्बन्धी कानुन र आमनागरिकको रक्षा गर्न र आफ्नो प्रतिबद्धता र दायित्व नभुल्न सबै पक्षको ध्यानाकर्षणसमेत गराएका छन् ।

सिरियामा युद्धविराम गर्ने प्रस्तावलाई गत शनिबार सुरक्षा परिषद्ले सर्वसम्मत रूपमा पारित गरेको थियो । झन्डै दुई हप्तासम्मको वार्ता प्रयासपछि परिषद्ले तीसदिने युद्धविराम गर्न आग्रहसहितको प्रस्ताव पारित गरेको थियो । सिरियाको गुटामा पछिल्लो समयमा हिंसा चर्किएपछि युद्धविराम प्रस्ताव गरिएको थियो ।