काठमाण्डौ, १८, फागुन । चीनसँग सम्बन्ध सुधार्न भारतले आफ्ना मन्त्रीहरु तथा वरिष्ठ सरकारी अधिकारीहरुलाई तिब्बती निर्वासित नेता दलाई लामा सहभागी हुने कार्यक्रममा नजान निर्देशन जारी गरेको छ । भारतीय पत्रिका द डन्डियन एक्सप्रेसमा प्रकाशित समाचारअनुसार विदेश सचिव विजय गोखलेले फेब्रुअरी २२ मा क्याबिनेट सेक्रेटरीलाई नोट पठाउँदै आगामी दुई महिना चीनसँगको सम्बन्ध निकै संवेदनशील रहेको भन्दै त्यस्ता कार्यक्रमबाट बच्न मन्त्री तथा वरिष्ठ अधकारीहरुलाई आग्रह गरेका छन् ।
फेब्रुअरी २३ का दिन बेइजिङ पुगेका गोखले चारदिने चीन भ्रमण पूरा गरी फर्केपछि चीनसँग सम्बन्ध सुधार गर्ने संकेत दिल्लीले गरेको हो । भारतका क्याबिनेट सेक्रेटरी पिके सिन्हाले फेब्रुअरी २६ का दिन सबै निकायलाई यस्तो पत्रचार गरिसकेका छन् ।
दलाई लामाको निर्वासित तिब्बती सरकारले मार्च र अप्रिल महिनाभर ६० औं वर्षगाँठ मनाउँदैछ । सो उपलक्षमा भारतका विभिन्न सहरमा धेरै कार्यक्रम आयोजना हुँदैछन् । लामा भारतको हिमाञ्चल प्रदेशको धर्मशालामा निर्वासित जीवन बिताइरहेका छन् । उनले त्यहीँबाट निर्वासित सरकार चलाउँदै आएका छन् । भारतले तिब्बती धार्मिक नेता भन्ने गरेका लामालाई चीनले भने पृथकतावादी नेता मान्छ ।
भारतीय कुटनीतिक क्षेत्रमा चीन विज्ञका रुपमा चिनिने गोखलेले एक महिना अघिमात्रै भारतको विदेश सचिवको जिम्मेवारी सम्हालेका थिए । एघार महिना अघि दलाई लामाले अरुणाञ्चल प्रदेश भ्रमण गर्नुलाई कतिपयले दोक्लम विवादसँग जोडेर हेर्दै आएका छन् । अरूणाञ्चल प्रदेशमा चीनको दावी रहँदै आएको छ । उसले सो क्षेत्रलाई दक्षिणी तिब्बत मान्छ ।
भुटान, भारत र चीनको त्रीदेशीय विन्दु रहेको दोक्लम विवादको समयमा गोखले चीनका लागि भारतीय राजदूत थिए । उनले विवाद समाधानक लागि वार्ता गराएका थिए ।