पाकिस्तानी प्रधानमन्त्री आकस्मिक नेपाल आउने

752
views

काठमाण्डौ, १८, फागुन । पाकिस्तान दक्षिण एसियाली सहयोग संगठन (सार्क) को अध्यक्षताका लागि आतुर पाकिस्तानका प्रधानमन्त्री शाहिद खाकान अब्बासी फागुन २१ गते नेपाल आउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिनका लागि उनी नेपाल आउन लागेको एमाले सचिव प्रदीप ज्ञवालीले पुष्टि गरेका छन् । २१ फागुनमा काठमाडौं आउने उनी २२ फागुनमा फर्किनेछन् ।

१८ औं शिखर सम्मेलन आयोजना गरेकाले हालसम्म नेपालले सार्कको अध्यक्षता गर्दै आएको छ । नेपालपछि सार्कको अध्यक्षता ग्रहण गर्ने पालो पाकिस्तानको हो । तर भारतसँगको तिक्त सम्बन्धका कारण सार्क सम्मेलन हुन नसक्दा उसले यो जिम्मेवारी पाउन सकेको छैन ।

१९ औं सार्क सम्मेलन ९–१० नोभेम्बर २०१६ मा पाकिस्तानमा गर्ने तय भएको थियो । तर भारत नियन्त्रित कास्मिरको उरीमा भएको आक्रमणमा पाकिस्तानको हात रहेको बताउँदै भारत शिखर सम्मेलनमा सहभागी नहुने भयो ।

भारतलाई समर्थन गर्दै अफगानिस्तान, बंगलादेश र भूटानले पनि सहभागिता जनाउन नसकिने बताउँदै सम्मेलन सार्नका लागि अनुरोध गरे । त्यसपछि पाकिस्तानी अनिच्छाका बावजुद सार्क अध्यक्ष राष्ट्र नेपालले सम्मेलन सार्न बाध्य भयो ।

प्रधानमन्त्री निर्वा्चित भएपछि ओलीलाई बधाई दिन पाकिस्तानी प्रधानमन्त्री अब्बासी नेपाल आउन लागेको भनिएपनि खासमा उनको नेपाल आगमनको भित्री उद्देश्य सार्क सम्मेलनको मिति तय गर्नका लागि नै हो ।

सार्क शिखर सम्मेलन रद्द भएयता भारत–पाकिस्तानबीचको सम्बन्ध अझै सुध्रिन सकेको छैन, जसले गर्दा पाकिस्तान अप्ठेरोमा परेको छ । यता, तीन वर्षअघिको नाकाबन्दीका कारण नेपालसँग बिग्रिएको सम्बन्ध सुधार्न भारत लालायित छ ।

नयाँदिल्ली आफैले नेपालसँग सम्बन्ध सुधार गर्न चाहेकाले यतिबेला ओलीका कुरा नयाँदिल्लीमा सुनुवाई हुने स्थिति छ। जानकारहरुका भनाईमा, यही कुरा मध्यनजर गर्दै सार्क सम्मेलनका विषयमा कुराकानी गर्न प्रधानमन्त्री अब्बासी नेपाल आउन लागेका हुन् ।