नेपाली काँग्रेसले परिवर्तन खोजेको छ–सिटौला

853
views

काठमाण्डौ, १८, फागुन । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले काँग्रेस पार्टीले परिवर्तन खोजेको बताउनुभएको छ । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ६ ले आज नेपालटारमा आयोजना गरेको ‘समसामयिक राजनीतिक परिस्थिति र नेपाली काँग्रेसको भूमिका’ विचार गोष्ठीमा नेता सिटौलाले परिवर्तित समयसँगै काँग्रेसलाई लैजान नसके पार्टी नै समाप्त हुने बताउनुभयो ।

नेता सिटौलाले काँग्रेसको निर्वाचनमा नीतिगत, रणनीतिगत, निर्णायक, व्यावहारिक पक्षमा गम्भीर त्रुटि भएका कारण पराजित हुनुपरेको बताउनुभयो । काँग्रेसभित्र वैचारिक बहस चलाउनुपर्ने बेला आएको उहाँको भनाइ थियो । उहाँले कम्युनिष्टहरु सरकारमा हुँदा आफ्ना लागि काम गर्ने तर राष्ट्रका लागि काम नगर्ने प्रवृत्ति भएको आरोपसमेत लगाउनुभयो ।

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले काँग्रेस कमजोर मनोविज्ञानका साथ निर्वाचनमा जाँदा कमजोर नतिजा ल्याएको बताउनुभयो । नेता पौडेलले चार पटक प्रधानमन्त्री भएका काँग्रेसका सभापतिलाई प्रधानमन्त्री नहुने अवस्थामा किन संसदीय दलको नेता बन्नुप¥यो भनी प्रश्न गर्नुभयो ।

काँग्रेस काठमाडौँ क्षेत्र नं ६ का सांसद भीमसेनदास प्रधानले आमजनताबीच काँग्रेसप्रति हिनताबोध हुँदै गएको भन्दै पार्टी पराजयबारे काँग्रेसभित्र गम्भीर समीक्षा आवश्यक रहेको बताउनुभयो । “सत्तरी वर्ष नाघेका व्यक्ति पार्टी संसदीय दलको नेतामा लड्नु हुँदैन, नयाँलाई अवसर दिनुपर्छ”, उहाँले भन्नुभयो ।