उर्लाबारी । यो वर्ष मोरङका सुपारी किसानले सस्तो मूल्यमा सुपारी बेच्न बाध्य भएका छन् । बिचौलिया र प्रशोधनकर्ता बीचको सिन्डिकेटले त झन सुपारी किसान मारमा परेका छन् । प्रशोधन केन्द्रमा प्रतिकेजी ४० रुपियाँमा बिक्री हुने सुपारी सङ्कलकहरूले किसानको बोट–बोटमा पुगेर प्रतिकेजी २०÷२२ रुपियाँ सम्ममा मात्र खरिद गरिदिएपछि किसानले मूल्य पाउन सकेका छैनन् ।
तिन वर्षअघि नै प्रतिकेजी २०/२२ रुपियाँमा सुपारी बिक्री गरेका किसान भन्छन् आफैँ प्रशोधन केन्द्र पु¥याउँदा ४० रुपियाँसम्म बिक्री हुने सुपारी प्रशोधन केन्द्रले सिधै खरिद नगरिदिएपछि सस्तो मूल्यमा सुपारी बिक्री गर्नुपरेको छ ।
यो वर्ष ठूला प्रशोधन केन्द्र सञ्चालकहरूले किसानको सुपारी बगान नै ठेक्कामा लिएका छन्, भने साना व्यापारीले गाउँगाउँ घुमेर सङ्कलन गर्नेहरू सङ्कलकसँग सुपारी खरिद गरेका छन् ।
कानेपोखरी–७ का सुपारी उत्पादक किसान इन्द्रप्रसाद कोइरालाले भन्नुभयो, हरेक खेतीमा किसानलाई प्रविधिको जरुरी भयो । अग्ला अग्ला रूखमा चढेर सुपारी झार्ने प्रविधि नहुँदा किसानले सस्तो मूल्यमा सुपारी बेच्नु परेको उहाँको भनाई छ ।
पथरीबाट सुपारी लिएर प्रशोधन केन्द्र पुगेका एक किसान भन्नुहुन्छ, सङ्कलकले लगेको सुपारी प्रशोधन केन्द्रले बिनासर्त खरिद गर्छ तर किसानले लाँदा दाना सानो भयो, बढी कुहिएको छ, प्रशोधन गर्दा कम माल बस्छ भनेर मूल्य कम दिन्छ ।
मोरङको उर्लाबारी ३ मङ्गलबारे क्षेत्रमा मात्र चारवटा सुपारी प्रशोधन केन्द्र रहेका छन् । उत्तरी मोरङका पहाडी गाउँ लेटाङ, जाँते, टाँडी र तराईका पथरी, उर्लाबारी, राजघाट, जाँते र बयरवनमा सुपारी खेती हुने गरेको छ । महालक्ष्मी सुपारी प्रशोधन केन्द्रले यो वर्ष मात्र २५ टन काँचो सुपारी प्रशोधन गरेको छ । सञ्चालक मनोज चौधरीले भन्नुभयो, २५ टन सुपारी प्रशोधन गर्दा अढाई टन प्रशोधित सुपारी (गुट्का) बन्छ ।
उहाँले पुस १५ यता दैनिक ६० जना कामदार लगाएर सुपारी प्रशोधन गरी रहनुभएको छ । पाँचवटा भट्टीमा दैनिक सुपारी उसिनेर महिला कामदारले दुई फ्याक बनाउने गरेका छन् । प्रतिकेजी दस रुपियाँ सुपारी टुक्र्याउनेलाई दिने गरेको चौधरीले बताउनुभयो ।
नेपालमा उत्पादित सुपारीको भारतमा उच्च माग छ, मनोज चौधरीका अनुसार सुपारीको मूल्य भारतबाट तोकिन्छ । यो वर्ष प्रतिकेजी २५० भारतीय रुपियाँ तोकिएको छ । जिल्लाको ८२५ हेक्टरमा सुपारी खेती हुने गरेको छ ।