राष्ट्रपतिका लागि आज उम्मेदवारी दर्ता

681
views

काठमाण्डौ, २३ फागुन । राष्ट्रपति निर्वाचनका लागि बुधवार आज उम्मेदवारी दर्ता हुँदैछ । नयाँ बानेश्वरमा रहेको अन्तराष्ट्रिय सम्मेलन केन्द्र भवन परिसरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ ।

निर्वाचन आयुक्त इश्वरीप्रसाद पौड्यालले राष्ट्रपति निर्वाचनका लागि सबै प्रकारको तयारी पूरा भएको र बुधबार उम्मेदवारी दर्ता हुने बताउनुभयो । उहाँले संघीय संसद् र प्रदेश सभा सदस्यले पनि राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गर्न पाउने तर निर्वाचित भए सदस्य पद स्वतः खारेज हुने जानकारी दिनुभयो ।

२०७२ असोज ३ गते जारी भएको ‘नेपालको संविधान’ अनुसार निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन गराउन लागेको यो पहिलो पटक हो । आयोगले निर्वाचन सम्पन्न गराउन उच्च अदालत पाटनका न्यायाधीश तीलप्रसाद श्रेष्ठलाई निर्वाचन अधिकृत तोकेको छ ।

राष्ट्रपतिको निर्वाचनका लागि प्रदेश सभाका तर्फबाट ५५० सदस्यमध्ये ५४९ र संघीय–संसद्का ३३४ सदस्यमध्ये ३३१ मतदातालाई मात्रै मताधिकार प्राप्त छ । प्रदेशसभा ५५० र संघीय संसद्मा ३४४ गरी ८८४ कुल मतदाता छन् । प्रदेशसभा सदस्यको मतभार ४८ र संघीय संसद्का सदस्यको मतभार ७९ छ ।

राष्ट्रिय जनता पार्टीका कैलाली क्षेत्र नं. १ बाट निर्वा्चित रेशम चौधरी थुनामा रहे पनि उहाँको नाम भने मतदाता नामावलीमा छ । तर मनाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित भई हाल थुनामा रहेका राजीव गुरुङ (दीपक मनाङे)को नाम भने मतदाता नामावलीमा समावेश छैन ।

निर्वाचन कार्यक्रम अनुसार, उम्मेदवारको अन्तिम नामावली फागुन २४ गते प्रकाशन हुने र फागुन २९ गते बिहान १० देखि ३ बजेसम्म मतदान हुँदैछ । मतदान सकिएलगत्तै मत गणना हुने जानकारी आयोगले दिएको छ ।

हरियो र रातो मतपत्र हुने
आयोगको निर्वाचन सञ्चालन शाखाका उपसचिव देशबन्धु अधिकारीका अनुसार संघीय संसद्का सदस्यले हरियो र प्रदेशसभाका सदस्यले रातो मतपत्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि मात्रै मतपत्र छपाइ सुरु हुने छ ।