सान्जेन जलविद्युत् आयोजनाको काम तीनमहिनादेखी अवरुद्ध

1632
views

रसुवा, २९, फागुन । सान्जेन जलविद्युत् आयोजनाको पावर हाउसको निर्माण कार्य तीन महिनादेखि रोकिएको छ । रसुवास्थित पार्वतीकुण्ड गाउँपालिकामा निर्माणाधीन ४२.५ मेगावटको आयोजनाको निर्माण कार्य रोकिएको आयोजनाले जनाएको छ ।

तल्लो सान्जेन जलविद्युत्को पावर हाउस निर्माणका आयोजना प्रमुख गणेश केसीले कम्पनीको पावर निर्माणको काम तीन महिनादेखि रोकिएको जानकारी दिनुभयो । सान्जेन जलविद्युत् कम्पनीसँग निर्माण सम्झौता गरेको भारतीय कम्पनी एसईएमले निर्माणको जिम्मा लिए पनि उक्त कम्पनीले काम नगरी हिमाल हाइड्रोलाई निर्माण कार्यको जिम्मा दिएको थियो ।

पावर हाउसको काम रोकिँदा समयमै काम सक्न चुनौती देखिने भन्दै प्रमुख केसीले काम सुचारु गर्न सान्जेनले जलविद्युत् कम्पनीले सम्झौता गरेको भारतीय कम्पनी एसईएमललाई ताकेता गर्न लागेको बताउनुभयो । प्रमुख केसीले सान्जेन कम्पनीले एसईएमसँग सम्झौता गरेको भन्दै हिमाल हाइड्रोलगायत अन्य कम्पनीसँग सान्जेन जलविद्युत् कम्पनीको कुनै सरोकार नरहेको प्रस्ट पार्नुभयो ।

सान्जेन जलविद्युत् कम्पनीसँग हाइड्रोपावर निर्माणको जिम्मा भारतीय कम्पनी एसईएम र नेपालको तुँन्दी कन्स्ट्रक्सन कम्पनीले पाएका थिए । तुँन्दी कन्स्ट्रक्सनले आफै काम गरिरहेको छ भने भारतीय कम्पनीले २.५ प्रतिशत कमिसन लिएर हिमाल हाइड्रोलाई सम्र्पूण काम गर्ने जिम्मा दिएको थियो ।

हिमाल हाइड्रोका महाप्रबन्धक दीपक अग्रवालले पनि पुसदेखि सान्जेन जलविद्युत् कम्पनी पावर हाउसको काम ठप्प भएको जानकारी दिँदै अब केही समयभित्रै काम सुरु गर्ने जानकारी दिनुभयो । हिमाल हाइड्रोले पावर हाउस निर्माणको जिम्मा दिएको गोमा एचजी कन्स्ट्रक्सनले तीन महिनादेखि काम नगरेकोले त्यसलाई हटाएर नयाँ कन्स्ट्रक्सन तोक्ने कार्य भइरहेको भन्दै केही समयदेखि नै पावरहाउस निर्माणको काम अघि बढ्ने जानकारी दिनुभयो ।

उहाँले तीन महिनादेखि काम नगरेका कारण देखाउँदै गोमा एचजी कन्स्ट्रक्सनलाई स्पस्टीकरण सोधेर नयाँ कम्पनीलाई काम दिने वित्तिकै पावरहाउस निर्माणको कामले तीव्रता पाउने जानकारी दिनुभयो । यता गोमा एचजी कन्स्ट्रक्सनका प्रमुख श्याम घिसिङले हिमाल हाइड्रो पावरले भुक्तानी रोकेको कारण पावर हाउस निर्माण कार्य रोकिन पुगेको जानकारी दिनुभयो । हामीले ३५ प्रतिशत काम पूरा गरिसकेका छौँ, घिसिङले भन्नुभयो, हिमाल हाइड्रोले सम्पन्न भएको कामको एक करोड छ लाख रुपियाँ नदिएका कारण थप काम गर्न सकिएको छैन ।

घिसिङले रकम भुक्तानी नभएका कारण मजदुरहरूलाई पारिश्रमिकसमेत दिन नपाएको गुनासो गर्नुभयो । हिमाल हाइड्रोले सान्जेन कम्पनीको पावर हाउस निर्माणको जिम्मा गोमा एचजी कन्स्ट्रक्सन कम्पनीलाई दस कारोड ५७ लाख रुपियाँमा जिम्मा दिएको थियो । पावर हाउस निर्माणमा भारतीय कम्पनी एसईएमले रकम भुक्तानी दिए पनि र हिमाल हाइड्रोले भुक्तानी रोक्दा निर्माण कार्य रोकिएको घिसिङको भनाई छ ।

भारतीय कम्पनी एसईएमले हिमाल हाइड्रोसँग सम्झौता गरेको छ भने हिमाल हाइड्रोले गोमा एचजी कन्स्ट्रक्सनसँग सम्झौता गरेको थियो । सान्जेन जलविद्युत् आयोजनाका प्रमुख गणेश केसीले पावरहाउसको काम रोकिँदा समयमै काम सम्पन्न हुन नसक्ने भन्दै भारतीय निर्माण कम्पनी एसईएम लाई कारबाही गरिने जानकारी दिनुभयो ।