प्रधानन्यायाधीश पराजुलीले तोके ११ इजलास

721
views

काठमाडौं, ३०, फागुन । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले बुधबार आफूसहित ११ वटा इजलास तोकेका छन् । यसअघि पक्ष र विपक्षमा विभाजित न्यायाधीशहरूलाइ उनले संयुक्त इजलासमा सँगै राखिदिएका छन् । बुधबारका लागि चोलेन्द्रशम्सेर जबराको इजालस तोकिएको छैन ।

उनले मंगलबार बेन्च बहिष्कार गरेका न्यायाधीश र इजालसमा बसेका न्यायाधीशको संयुक्त इजलास तोकेका हुन् । सर्वोच्चको बुधबारको इजलासमा शारदाप्रसाद घिमिरे र प्रकाशमानसिंह राउतको संयुक्त इजालस तोकिएको छ । मंगलबार घिमिरेको इजलास बसेको थियो । राउतले इजालस बहिष्कार गरेका थिए ।

प्रधानन्यायाधीश पराजुलीले वरिष्ठ न्यायाधीश दिपकराज जोशी र विश्वम्भरप्रसाद श्रेष्ठको समेत संयुक्त इजालस तोकेका छन्। पराजुलीपछि रोलक्रममा रहेका जोशीलाई मंगलबार इजलास बहिष्कार गरेका श्रेष्ठसँग संयुक्त इजालस तोकिएको हो । जोशी अझै पक्ष वा विपक्ष भन्ने स्पष्ट छैन ।

सर्वोच्च स्रोतका अनुसार बुधबार पनि ११ मध्ये ४ वटा इजलासको बेन्च बस्ने वा नबस्ने टुङगो छैन। प्रधानन्यायाधीश पराजुलीले तोकेको इजालसमा नबस्ने अडान लिएका हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशसिंह राउत, र सपना प्रधान मल्ललाई इजलास तोकिएको हो ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीश खुलेरै पक्ष र विपक्षमा उभिएका थिए । डाक्टर गोविन्द केसी र कान्तिपुर मिडिया ग्रुपबिरुद्धको मुद्दामा तोकिएको बृहत्त इजलासमा न्यायाधीश चोलेन्द्रशम्सेर जबराको लिखित आपत्तिपछि यो अवस्था आएको हो ।