एजेन्सी राँची, ६ चैत । भारतको सिबिआईको विशेष अदालतले बिहारका पूर्वगृहमन्त्री लालुप्रसाद यादवलाई चर्चित चारा भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । सोमबार राँचीमा भएको सिबिआईकै विशेष अदालतमा लालुप्रसादलाई दोषी मानिएको भारतीय मिडियाहरूले जनाएका छन् । विशेष अदालतमा चारा भ्रष्टाचारसँग जोडिएका ३१ आरोपीहरूको बहस चलेको थियो । अहिलेसम्म ६ मध्ये चार मुद्दाको फैसला भएको छ । दोषी मानिएका लालुप्रसाद अहिले जेल सजाय काटिरहेका छन् ।
केही आरोपित रिहा
विशेष अदालतले चारा भ्रष्टाचारमै मुछिएका केही आरोपीलाई सफाइ दिएको छ । पूर्वमुख्यमन्त्री जगन्नाथ मिश्रालाई अदालतले रिहाइ गरेको छ । यसैगरी, विमलकान्त दास झा, एमसी सुवर्णा र ध्रुव भगतले पनि सफाइ पाएका छन् । अरुण सिंह, विमलकान्त, ओप दिवार र आनन्द कुमारजस्ता आरजेडीका नेताहरू भने दोषी पाइएका छन् । यता, एजेन्सीहरूका अनुसार लालुप्रसादको सम्बन्धमा २१, २२ र २३ मार्चमा पुनः विशेष अदालतमा बहस हुनेछ । अहिलेसम्म अदालतले १९ व्यक्तिलाई दोषी ठहर गरेको छ ।
अस्पतालबाट सीधै कोर्टमा
सिबिआईको विशेष अदालतमा लालुप्रसाद सोमबार अस्पतालबाटै पुगेका थिए । आइतबार अचानक स्वास्थ्य खराब भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । लालुप्रसादका छोरा तेजस्वी यादव र आरजेडीका केही शीर्ष नेता अस्पताल पुगेका थिए । सोमबार अस्पतालका चिकित्सकहरूले लालुप्रसादको स्वास्थ्य अवस्था राम्रो नभएको जनाए पनि उनलाई अदालतमा लगिएको जनाइएको छ । यसअघि १५ र १७ मार्चमा पनि मुद्दाको सुनवाइ थियो । तर, लालुप्रसादको स्वास्थ्य अवस्था राम्रो नभएका कारण सोमबार सुनवाइ राखिएको हो ।
आरजेडीको भनाइ
आफ्ना नेता लालुप्रसादलाई दोषी बताएपछि आरजेडीका नेता रघुवंशप्रसाद सिंहले भारतीय जनता पार्टीकै निर्देशनमा फैसला भएको आरोप लगाएका छन् । कुनै आरोपितलाई रिहाइ गर्ने र कसैलाई सजाय दिने अदालतको फैसलामाथि सिंहले प्रश्न उठाएका छन् । ‘यो नरेन्द्र मोदी र नीतिशबीचको खेल हो, हामीले अनुमान लगाएकोजस्तै फैसला आएको छ, जगन्नाथ मिश्रा रिहा हुँदा लालुप्रसाद जेलमा पुगेका छन्,’ सिंहले भने ।