नेपाली क्रिकेटको इतिहासमा अहिलेसम्मकै ठूलो सफलता –पारस खड्का

702
views

काठमाण्डौ, ६ चैत । विश्वकप क्रिकेट छनोट प्रतियोगिताबाट एकदिवसीय मान्यता प्राप्त गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । नेपाली टोलीलाई नवनियुक्त खेलकुदमन्त्री जगत विश्वकर्माले विमानस्थलमै पुगेर स्वागत गरेका छन् । यसैगरी, विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायत सयौँ समर्थकले टोलीको स्वागत गरेका थिए ।

राष्ट्रिय टोलीका कप्तान पारस खड्काले क्रिकेट इतिहासमै ठूलो सफलता हात पार्दा आफूहरू भावविभोर भएको प्रतिक्रिया दिएका छन् । ‘हामीले नेपाली क्रिकेटको इतिहासमा अहिलेसम्मकै ठूलो सफलता हात र्पायौँ, यो क्षणमा हामी भावुक भएका छौँ,’ पत्रकारहरूसँग कुराकानी गर्दै पारसले भने, ‘हामीलाई थप दबाब बढेको छ ।’

नेपाललाई एकदिवसीय मान्यता प्रदान गराउन खेलाडीलाई निखारेका मुख्य प्रशिक्षक जगत टमाटाले प्राप्त उपलब्धि रक्षा गर्नुपर्ने चुनौती रहेको बताएका छन् । नेपालले सन् २०२२ सम्म एसोसिएट राष्ट्रतर्फ चार वर्षका लागि एकदिवसीय मान्यता पाएको हो । चार वर्षसम्म नेपाली क्रिकेट कसरी अगाडि बढ्छ भन्ने चुनौती रहेको उनले बताए । ‘अबका चार वर्ष नेपाली क्रिकेट कसरी चल्छ, यही नै अहिलेको समस्या र चुनौती हो,’ टमाटाले भने ।

जिम्बावेमा एकदिवसीय अन्तर्रा्ष्ट्रिय मान्यता प्राप्त गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई खेलकुदमन्त्री जगत विश्वकर्मालगायत सयौँ समर्थकले सोमबार त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरे ।

नेपाली टोलीका भेट्रान खेलाडी वसन्त रेग्मीले नेपालको लक्ष्य टेस्ट मान्यतातर्फ हुनुपर्ने बताए । ‘हाम्रो अबको लक्ष्य पूर्ण रूपमै एकदिवसीय टोली बन्नु हो, यो भनेको नेपालले टेस्ट मान्यता प्राप्त गर्नुपर्छ,’ वसन्त भन्छन, ‘अब यसैतर्फ हामी अग्रसर हुनुपर्छ ।’