करिब १५ खर्बको बजेट बनाउँदै अर्थ मन्त्रालय

1018
views

काठमाण्डौ, ६ चैत । आर्थिक समृद्धिलाई प्राथमिकता दिने बताउँदै आएको सरकारले आर्थिक वर्ष २०७५ र ७६ को बजेट निर्माण कार्य सुरु गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाको निर्देशनअनुसार मन्त्रालयका कर्मचारीहरु बजेट बनाउन व्यस्तर रहेका छन् ।

मन्त्रालयका कर्मचारीहरुले बजेट शीर्षक तथा बजेट स्रोतको बाडफाँड गर्ने काम गरिरहेको मन्त्रालयको बजेट महाशाखाका उपसचिव ईश्वरी प्रसाद अर्यालले बताए ।

आगामी वर्षको बजेटको लागि मन्त्रालयले सरकारी कोषमा रहेको तर वर्षौसम्म निस्क्रिय रकमलाई पनि उपयोग गर्नेसँगै प्रधानमन्त्री कार्यालय अन्तर्गतका दैवीप्रकोप उद्धार तथा राहत, भूकम्प पुनःनिर्माण कोषमा रहेको रकमलाई बजेटको दायराभित्र ल्याउन अर्थ मन्त्रालयले महालेखा नियन्त्रकको कार्यालयलाई पत्राचार समेत गर्दैछ ।

पुननिर्माणको नाममा जम्मा भएको तथा प्रयोगमा आउन नसकेको करिव ८ अर्ब रुपैयाँलाई आगामी वर्षको बजेटको दायरामा ल्याउन लागिएको हो । चालू आवको करिब २ खर्ब रुपैयाँ आगामी आवको बजेट स्रोतको रुपमा स्थानान्तरण हुनेछ ।

वैदेशिक अनुदान र ऋण तथा आन्तरिक र बाह्य आम्दानीलाई स्रोतको रुपमा लिएर बजेट बनाउने काम भइरहेको उपसचिव अर्यालले बताए। मन्त्रालयका प्रवक्ता अर्जुनप्रसाद पोखरेल आगामी वर्षको बजेट शीर्षक निर्माणको प्राथमिकता संघीय संरचना तथा अत्यावश्क क्षेत्रले पाउने दाबी गर्दछन् ।

‘देशमा स्थायित्व सुरु भयो भन्ने भनाईलाई ध्यानमा राखेर आगामी वर्षको बजेट तयार हुँदैछ’, ‘आर्थिक समृद्धि हासिल गर्ने सरकारको लक्ष्य मुख्य प्राथमिकतामा रहनेछ ।’ आगामी आवका लागि करिब १५ खर्ब रुपैयाँ बराबरको बजेट ल्याउन मन्त्रालयमा आन्तरिक छलफल चलेको बजेट महाशाखा स्रोतको भनाइ छ । चालु आवको बजेट १२ खर्ब ६ अर्ब रुपैयाँको थियो ।

तीन तहको भौतिक संरचनालाई ८ अर्ब

सरकारले संघीय प्रणालीअन्तर्गत तीनै तहमा आवश्यक भौतिक संरचना निर्माणका लागि ८ अर्ब २० करोड बजेट व्यवस्था गर्ने तयारी गरेको छ । तीनै तहका संघीय संसद् भवन र त्यहाँ रहने अन्य सरकारी भवन निर्माणका निम्ति सो बराबरको बजेट पूर्वधारतर्फ छुट्याउने तयारी गरिएको हो । स्थानीय, प्रदेश, केन्द्रमा रहने भवनहरू निर्माण तथा पुराना सरकारी भवन मर्मत गरी नयाँ कार्यालयहरू सञ्चालनका लागि सो बराबरको रकम छुट्याउन लागिएको हो ।