रौतहट, १२, चैत । भूमिगत जनतान्त्रिक तराई मुक्ति मोर्चाको सैन्य कमान्डर एवम् रौतहट जिल्ला इन्चार्ज बारुद सिंह भनिने सुरेन्द्र यादव पक्राउ परेका छन् । सर्लाही प्रहरीले आइतबार राति यादवलाई पक्राउ गरेको हो ।
ज्वाला सिंह नेतृत्वको जनतान्त्रिकमा लामो समयदेखि भूमिगत जीवन बिताइरहेका यादवमाथि सर्लाही जिल्ला प्रहरीमा अपहरण तथा फिरौती मुद्दा दायर थियो । गत जेठ १५ गते सर्लाहीको बरहथवा–४ का राम पुकार राय यादवको ८ वर्षका छोरा गोलु रायलाई अपहरण गरी २० लाख फिरौती लिएको आरोप यादवमाथि रहेको छ ।
उनीमाथि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कर्तव्य ज्यानसम्बन्धी दुई, अपहरण तथा शरीर बन्धक, चन्दा असुली र विस्फोट गरी ६ वटा मुद्दा रहेको सर्लाही प्रहरी प्रमुख एसपी महम्मद मसाउद अली खाँले जानकारी गराएका छन् । उनले आइतबार राति सर्लाहीबाटै यादवलाई पक्राउ गरिएको बताए ।
रौतहटको गरुडा नगरपालिका ६ अमरपटी टोलका ४२ वर्षीय यादवमाथि जिल्ला प्रहरी कार्यालय रौतहटमा पनि गम्भीर अपराधका मुद्दाहरु विचाराधीन छन् । रौतहटका प्रहरी प्रमुख एसपि यज्ञविनोद पोखरेलका अनुसार प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका यादवमाथि बम विस्फोट, आगजनी लगायतका गम्भीर प्रकृतिका चार वटा मुद्दा रहेका छन् ।