कालिगण्डकी करिडोर सडक आयोजनालाई थप ३० करोड विनियोजन

921
views

पर्वत, १२, चैत । राष्ट्रिय गौरबको आयोजना कालिगण्डकी करिडोर सडक आयोजनालाई अर्थमन्त्रालयले ३० करोड रकम विनियोजन गरेको छ । विभिन्न शीर्षकमा विनियोजितमध्ये खर्च नभएको रकम तानेर कालिगण्डकी करिडोर सडक अयोजनालाई रकमान्तर गरिएको हो । फागुनको अन्तिम साता आयोजनालाई रकम उपलब्ध गराइएको अर्थ मन्त्रालयले जनाएको छ ।

विनियोजित बजेट अपुग भएपछि अर्थ मन्त्रालयले नेपाल– चीन जोड्ने कालीगण्डकी करिडोर सडक आयोजनालाई ३० करोड रुपैयाँ रकमान्तर गरेर थपिदिएको हो । अर्थ मन्त्रालयले फागुन अन्तिममा रकमान्तर गरी यो आयोजनाका लागि बजेट उपलब्ध गराएको हो ।

चालु आर्थिक वर्ष २०७४÷०७५ को बजेटमार्फत आयोजनाका लागि ५५ करोड रुपैयाँ बजेट दिएको थियो । आयोजनाले सरकारसँग ५५ करोड रुपैयाँ थप रकम माग गरेको भए पनि अर्थ मन्त्रालयले ३० करोड रुपैयाँ मात्रै उपलब्ध गराएको हो ।

माथिल्लो मुस्ताङमा पानी पर्ने भएकाले काम छिटो अगाडि बढ्यो र त्यसैको फलस्वरुप विनियोजित बजेट छिट्टै सकियो । फागुन अन्तिममा अर्थ मन्त्रालयले रकमान्तर गरी थप बजेट उपलब्ध गराएको छ,’ सडक विभागअन्तर्गत उत्तररदक्षिण व्यापारिक मार्ग आयोजना प्रमुख बलराम मिश्रले भने, ’अझै थप रकम आवस्यक पर्छ ।’

कालीगण्डकी करिडोरको ट्रयाक नेपाली सेनाले खोलिसकेको छ । चीनको तिब्बतस्थित कोरलादेखि भारतीय सीमा सुनौलीसम्म आयोजना जोडिन्छ । यो आयोजनाको कूल लम्बाइ ४ सय ३५ किलोमिटर छ । बेनी– जोमसोम ७६ किलोमिटर सडक र कोरला सडकखण्ड करिब १ सय १० किलोमिटर सडकलाई ग्राभेलमा स्तरोन्नती गर्ने काम भैरहेको आयोजनाले जनाएको छ ।