पार्टी एकताको घोषणा चैत २० सम्ममा हुने, बुधबार प्रतिवेदन टुंगो

828
views

काठमाडौं, १२ चैत । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जानुअघि नै पार्टी एकताको घोषणा गर्ने तयारी अनुसार दुई कार्यदलले काम अघि बढाएका छन् । यसअघि कम्युनिष्ट पार्टी स्थापनाको दिन बैशाख १० मा एकता घोषणा गर्ने बताइएको थियो ।

प्रधानमन्त्री ओलीको भारत भ्रमणको तालिका औपचारिक रुपमा तय हुन वाँकी रहेपनि चैतको अन्तिम साता हुने संभावना छ । त्यसअघि नै पार्टी एकता घोषणा गरिने एमाले बरिष्ठ नेता माधवकुमार नेपालले बताउनुभयो ।

‘पार्टी एकता अव ३-४ दिनमा हुनसक्छ’ नेता नेपालले भन्नुभयो । कार्यदलका सदस्य रघुजी पन्तका अनुसार, बुधबार कार्यदलको प्रतिवेदनले अन्तिम रुप पाउनेछन् । ‘१४ गते हामी हाम्रो काम सक्छौं । त्यस दिनको हाम्रो कार्यदलको बैठकले प्रतिवेदनलाई अन्तिम रुप दिनेछ । अव एकता घोषणा छिटै हुन्छ’ उहाँले भन्नुभयो।

कार्यदलले प्रतिवेदनलाई अन्तिम रुप दिएपछि पार्टी एकता संयोजन समितिलाई प्रतिवेदन पेश गर्ने र त्यसपछि एकताको घोषणा हुनेछ । माधवकुमार नेपाल संयोजक रहेको कार्यदलमा भीम रावल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ, रघुजी पन्त, नारायकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत, पम्फा भुषाल र देवेन्द्र पौडेल सदस्य छन् ।

उता, विधान मस्यौदा कार्यदलले पनि एकीकृत पार्टीको सांगठानिक संरचना र अन्तरिम विधानको खाकालाई अन्तिमरुप दिइसकेको छ । एकीकृत कम्युनिष्ट पार्टीको केन्द्रदेखि जिल्लास्तरसम्मको संरचना निर्माणको खाका तयार गरिएको छ ।