नगर र गाउँपालिका प्रमुखलाई ‘अफिसियल’ राहदानी, प्रमको प्रेस सल्लाहकारमा अर्याल

678
views

काठमाडौं, १२ चैत । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले सरकारले निर्वाचनका बेला भएका विभिन्न घटनामा परी घाइते तथा अंगभंग भएकाहरुलाई अस्पतालको बील बमोजिमको रकम प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा पत्रकार कुन्दन अर्याललाई विशिष्ठ श्रेणीको सुविधा पाउने गरी नियुक्त पनि गरेको छ । साथै बैठकले प्रधानमन्त्रीको जन–सम्पर्क सल्लाहकारमा अच्यूत मैनालीलाई राज्यमन्त्रीको सुविधा पाउने गरी नियुक्त गरेको छ ।

यस्तै आजको बैठकले नेपाली सेनाका १३ जना महासेनानीको दुई वर्षका लागि म्याद थप समेत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद वाँस्कोटाले बताए ।

मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुखदेखि जिल्ला समन्वय समितिका प्रमुखसम्मलाई कुटनीतिक राहदानी र नगरपालिका र गाउँपालिका प्रमुखलाई ‘अफिसियल’ राहदानी प्रदान गर्ने निर्णय पनि गरेको छ ।

आगामी चैत १५ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभालाई संयुक्त सम्बोधन गने निर्णय समेत मन्त्रिपरिषदले गरेको छ ।