काठमाडौं, १७, चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘युवा र महिलाको सक्रियतामा देशको विकास र समृद्धिका काम अगाडि बढ्नेमा म आफू आशावादी रहेको बताए । गाउँपालिका राष्ट्रिय महासंघ नेपालको राष्ट्रिय महाधिवेशनको आज काठमाडौँमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । सो अवसरमा ओलीले स्थानीय तह सफल भए मात्र देश सफल हुने पनि बताए ।
प्रधानमन्त्री ओलीले स्थानीय तहमा युवा र महिलाको संख्या उल्लेख्य रहेको भन्दै तीव्र गतिमा काम हुनेमा आशावादी रहेको बताउँदै उनले भने‘ ‘स्थानीय तहमा आएका ५१ प्रतिशत उपाध्यक्ष ४० वर्ष मुनिका हुनुहुन्छ, महिलाको संख्या पनि ४० प्रतिशत भन्दा बढी छ ।’
उनले जनताले अधिकार पाएको कुरा महसुस गर्नेगरी काम गर्न स्थानीय जनप्रतिनिधिहरुलाई निर्देशन दिए । ‘सिंहदरबारको अधिकार गाउँमा पुगेको जनताले अनुभुति गर्ने गरी जनप्रतिनीधिलाई काम गर्न आग्रह गरे । ओलीले संघीयतालाई सफल बनाएर सकारात्मक सन्देश दिनुपर्ने बताए ।
स्थनीय तहमा भएको कर्मचारीको अभाव चाँडै पूरा हुने भन्दै उनले सरकारले कर्मचारी समायोजनको काम अघि बढाइ सकेको जानकारी दिए ।
प्रधानमन्त्री ओलीले पूर्वाधार, विद्यतु, वैकल्पिक ऊर्जा, सञ्चार आदि क्षेत्रको विकासमा लाग्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।