कारागारमै आम्दानीः कैदीबन्दीले ढाका टोपी बुनेर दैनिक हजार कमाइ गर्दै

814
views

गाईघाट, उदयपुर, १७, चैत । जिल्लाको सदरमुकाम गाईघाटस्थित बोक्सोमा रहेको जिल्ला कारागार शाखाका केही कैदीबन्दीले ढाकाटोपी बुनेर अहिले दैनिक एक हजार रुपैयाँसम्म आम्दानी गर्न थालेका छन् ।

बाँसको मानिस बस्ने मुढा बनेर कमाइ गर्न थालेका जिल्ला कारागार शाखाका कैदीबन्दीमध्ये १४ जना कैदीले अहिले ढाका टोपी बुन्ने सीप सिकेर दैनिक एक हजार कमाइ गर्न थालेको कारागार शाखा उदयपुरका प्रमुख मुकुन्द ढकालले बताए ।

जिल्ला कारागारमा ढाकाको टोपी बन्नका लागि प्रशिक्षकका रुपमा मोरङ कारागारबाट दुई जना कैदी मुस्ताङ राई र कुवेर तिम्सिनालाई सरुवा गरेर ल्याएपछि कारागारका १४ जना कैदीले ढाकाटोपी बुन्ने सीप सिकेका हुन् ।

जानेर वा नजानेर गरेका गल्तीको प्रायश्चित गर्न र कानूनले तोकेबमोजिम सुधार हुन र गर्नका लागि कारागारमा केही कैदीबन्दीले बन्दी जीवन बिताउँदै आएको कारागार प्रमुख ढकाल बताउँछन् ।

भोलि जेलबाट मुक्त भएपछि पनि कारागारमा सिकेको सीप सिकेर शान्तिपूर्ण जीवनयापन गर्न सकुन् भनेर यो टोपी बुन्ने प्रशिक्षक ल्याएर टोपी बुन्ने व्यवसाय शुरु गरिएको ढकालले बताए ।

कारागारका ढाकाटोपी बन्न प्रशिक्षण दिने प्रशिक्षक कुवेर तिम्मिसना र मुस्ताङ राईले सीप सिकेका बन्दीहरुले एउटा टोपीको कमाइ दिनको रु ७०० देखि एक हजारसम्म हुने गरेको बताए ।