रसियाद्वारा ६० अमेरिकी कूटनीतिज्ञलाई देश निकाला

2331
views

एजेन्सी मस्को, १७ चैत । रसियाले आफ्नो मुलुकमा कार्यरत ६० अमेरिकी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको छ । आफ्ना ६० कूटनीतिज्ञलाई वासिङटनले देश निकाला गरेको पाँच दिनपछि रसियाले पनि बदलास्वरूप सो कदम चालेको हो । रसियाली विदेश मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मस्कोस्थित ६० कूटनीतिज्ञलाई २४ घन्टाभित्र देश छोड्न आदेश दिएको हो ।

रसियाली सहर सेन्ट पिट्सवर्गमा रहेको अमेरिकी कन्सुलेट कार्यालय बन्द गराउनसमेत रसियाली विदेश मन्त्रालयले निर्देशन दिएको हो । रसियाली विदेशमन्त्री सर्जी लाभरोवले ४८ घन्टाभित्र सो कन्सुलेट कार्यालय बन्द गर्न आदेश दिइएको जानकारी दिए । बेलायतमा शरण लिएका रसियाका एक पूर्वगुप्तचर र उनकी छोरीमाथि आक्रमण प्रकरणमा रसियाको संलग्नता रहेको भन्दै अमेरिका र युरोपले शृंखलाबद्ध रूपमा आफ्ना कूटनीतिज्ञहरूलाई देश निकाला गरेपछि मस्कोले चालेको यो पहिलो कदम हो ।

रसियाले बदला लियोः अमेरिका
अमेरिकाले आफ्ना कूटनीतिज्ञहरूलाई रसिायले विनाकुनै आधार देश निकाला गरेको गुनासो गरेको छ । रसियाली कदमको अमेरिकाले विरोध गरेको छ । ‘रसियाले बदला लिने मात्र काम र्गयो, हाम्रा कूटनीतिज्ञ निकाल्नुपर्ने आधार रसियासँग छैन,’ अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । यसअघि आइतबार अमेरिकाले त्यहाँको सियाटलस्थित रसियाली महावाणिज्य दूतावास बन्द गर्दै ६० रसियाली कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको थियो । सो घटनापछि यी दुई देशबीचको कूटनीतिक सम्बन्धमा थप दरार उत्पन्न हुने देखिएको छ । ट्रम्पले राष्ट्रपतिको पदभार सम्हालेपछि पहिलोपटक रसिया र अमेरिकाबीचको सम्बन्धमा तिक्तता आएको हो ।

रसियाप्रति विश्व समुदाय रुष्ट
रसियाले बेलायतमा शरण लिएका पूर्वगुप्तचर सर्जी स्क्रिपल र उनकी छोरी युलियामाथि आक्रमण गरेको विषयलाई लिएर ऊप्रति विश्व समुदाय नै रुष्ट बनेको छ । आक्रमणको विरोधमा विभिन्न देशले रसियाली कूटनीतिज्ञलाई देश निकाला गर्ने क्रम बढ्दो छ । पछिल्लो समयमा विश्वका २४ भन्दा बढी देशले रसियाका एक सयभन्दा बढी कूटनीतिज्ञलाई देश निकाला गरेका छन् । त्यसको बदलामा रसियाले मस्कोमा रहेका विभिन्न देशका कूटनीतिज्ञहरूलाई देश निकाला गरेको छ । एक  साताअघि उसले बेलायतका २३ कूटनीतिज्ञलाई देश निकाला गरेको थियो । अमेरिकाको पछिल्लो कदमले मस्कोविरुद्ध ट्रम्प प्रशासन कठोर बनेको देखिन्छ ।

 बेलायतले गत महिना सर्वप्रथम २३ रसियाली कूटनीतिज्ञहरूलाई देश निकालेको थियो । त्यसको एक सातापछि जवाफमा रसियाले मस्कोबाट उत्तिकै संख्यामा बेलायती कूटनीतिज्ञलाई देश निकाला गरेको थियो । त्यसपछि युरोपेली युनियनमा आबद्ध सम्पूर्ण देशहरूले आ–आफ्ना देशबाट रसियाली कूटनीतिज्ञहरूलाई देश निकाला गरेका थिए । लगत्तै युक्रेन, क्यानडा, अल्बानिया, नर्वे र म्यासोडोननियाले आफ्ना देशबाट रसियाली कूटनीतिज्ञहरूलाई देश निकाला गरेको थियो ।

बेलायतबाट इयु बाहिरिनेबारे निर्णायक वार्ता भइरहेको समयमा इयु र बेलायतबीचको सम्बन्ध चिसिइरहेका वेला इयुका सदस्य राष्ट्र र अमेरिकाले अभूतपूर्व एक्यबद्धता जनाएका छन् । युरोपेली परिषद्का अध्यक्ष डोनाल्ड टास्कले विश्व समुदायले रसियाविरुद्ध अभूतपूर्व विरोध गरेको बताए ।