भारत भ्रमणबारे प्रधानमन्त्रीले आज संसद्लाई जानकारी दिँदै

पूर्वमन्त्री खड्काको निधनमा सोमबार शोक प्रस्ताव पारित

639
views

काठमाडौं । २३ चैतदेखि भारतको तीनदिने राजकीय भ्रमण गर्न लागेका प्रधानमन्त्री केपी ओलीले आज संघीय संसद्लाई सम्बोधन गर्दै छन् । उनले आफ्नो भारत भ्रमणबारे संसद्लाई जानकारी गराउने भएका हुन् । संघीय संसद्अन्तर्गत दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा र अपराह्न ४ बजे बस्ने राष्ट्रिय सभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै छन् ।

प्रधानमन्त्रीको सम्बोधनसँगै राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी अध्यादेश र चिकित्सा शिक्षा अध्यादेशसमेत स्विकृतिका लागि संसद्मा पेस हुँदै छ । सरकारले संसद्मा अन्य विधेयक दर्ता नगराएकाले प्रधानमन्त्रीको सम्बोधनलगत्तै आजै संघीय संसद्को पहिलो अधिवेशन अन्त्य हुने सम्भावना रहेको सचिवालय स्रोतले जनाएको छ । ‘संघीय संसद्को अधिवेशन अन्त्य गर्नेबारे राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त हुनुपर्छ ।

सोमबारको बैठकमा शोक प्रस्ताव पारित

संघीय संसद्को सोमबार बसेको प्रतिनिधि र राष्ट्रिय सभा बैठकले पूर्वसांसदसमेत रहेका कांग्रेस नेता खुमबहादुर खड्काको निधनमा शोक प्रस्ताव पारित गरेको छ । ०४८, ०५१ र ०५६ मा गरी तीनपटक दाङबाट सांसद बनेका खड्काको उपचारका क्रममा गत शुक्रबार भारतको अपोलो अस्पतालमा निधन भएको थियो । पूर्वमन्त्री खड्काको निधनप्रति संघीय संसद्का दुवै सभाको बैठकले शोक प्रस्ताव पारित गरेको हो ।

सोमबारसम्म राष्ट्रपति कार्यालय बेखवर
सरकारबाट संसद् अधिवेशन आजै अन्त्य हुने सांसद तथा संघीय संसद् सचिवालयमा चर्चा चले पनि राष्ट्रपति कार्यालय भने सोमबार अबेरसम्म बेखबर थियो ।

संसद् अधिवेशन अन्त्य गर्नेबारे संसद् र प्रधानमन्त्रीको सिफारिस आउनुपर्ने भए पनि त्यो प्राप्त भइनसकेको राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्र पौडेलले बताए । उनले भने, ‘अपर्झट भोलि नै सिफारिस आयो र अधिवेशन अन्त्य गर्नुपर्ने भयो भने त पत्र पठाइन्छ ।’