प्रधानमन्त्री ओली राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्दै

888
views

काठमाडौं, २३ चैत । प्रधानमन्त्री केपी ओली भारतको तीनदिने राजकीय भ्रमणका लागि शुक्रबार त्यसतर्फ प्रस्थान गर्दै छन् । ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली दिल्ली जान लागेका हुन् । नेपाल एअरलायन्सको नियमित उडानबाट दिल्ली पुग्ने प्रधानमन्त्री ओली इन्दिरा गान्धी अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट सीधै राष्ट्रपति भवनमा पुग्नेछन् ।

राष्ट्रपति भवनमा केहीबेर आराम गरेपछि उनले भारतीय उद्योगी व्यवसायीसँग छलफल गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतीय व्यवसायीसँगको छलफलपछि प्रधानमन्त्री ओलीले नेपाली दूतावासमा नेपाली समुदायसँग भेटवार्ता गर्ने कार्यक्रम छ। साँझ उनी नेपाली दूतावासले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछन् । रात्रिभोजमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीदेखि विभिन्न राजनीतिक दलका शीर्ष नेताका साथै कूटनीतिज्ञ र पत्रकारलाई आमन्त्रित गरिएकोे छ ।

भारतीय समकक्षी मोदी र ओलीबीच शनिबारमात्र औपचारिक भेटवार्ता हुनेछ। बिहान राष्ट्रपति भवनमा मोदीले ओलीलाई स्वागत गर्नेछन् भने त्यसपछि भारतीय सेनाले ओलीलाई ‘गार्ड अफ अनर’ दिएपछि प्रधानमन्त्री ओलीसँग भारतीय राष्ट्रपति र उपराष्ट्रपतिले भेट्ने कार्यक्रम छ । भेटपछि ओली राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुग्नेछन्। उनले त्यहाँ दीप प्रज्वलन गर्ने कार्यक्रम छ ।

हैदरावाद हाउसमा सुरुमा दुई प्रधानमन्त्रीबीच एक्लाएक्लै वार्ता हुनेछ भने त्यसपछि दुई देशका प्रतिनिधिमण्डलसहित औपचारिक छलफल हुनेछ । दुवै नेताले दिल्लीबाटै वीरगन्जमा रहेको एकीकृत चेकपोस्टको उद्घाटन गर्ने परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हैदरावाद हाउसमै दुई नेताको संयुक्त पत्रकार सम्मेलन हुनेछ। पत्रकार सम्मेलनमा दुवै देशका प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् । प्रधानमन्त्री ओलीसँग भारतीय विदेशमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीले भेट्ने कार्यक्रम छ भने भारतीय नेताहरूले पनि शनिबारै भेट गर्नेछन् ।

यस्तै इन्डिया फाउन्डेसनले आयोजना गर्ने कार्यक्रममा पनि ओली सहभागी हुनेछन् । प्रधानमन्त्री ओलीको सम्मानमा भारतीय प्रधानमन्त्री मोदीले दिवाभोज आयोजना गर्नेछन् भने राष्ट्रपति रामनाथ कोविन्दले रात्रिभोज दिनेछन् ।

दिल्ली भ्रमणको अन्तिम दिन आइतबार प्रधानमन्त्री ओली उत्तराखण्ड जाने कार्यक्रम छ । उत्तराखण्डस्थित पन्तनगरमा रहेको गोविन्दवल्लभ पन्त कृषि विश्वविद्यालयको दीक्षान्त समारोहमा उनी सहभागी हुनेछन् । प्रधानमन्त्री ओलीलाई उक्त विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि दिनेछ । प्रधानमन्त्री सोही दिन साँझ स्वदेश फर्कनेछन् ।

भ्रमण दलमा प्रधानमन्त्री ओलीका साथमा धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, भौतिक निर्माण तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, संघीय संसद्का सदस्य, मुख्यसचिव, परराष्ट्र मन्त्रालयका सचिवलगायत उच्च अधिकारी सहभागी हुनेछन् ।

भ्रमणदलमा कलाकार पनि

प्रधानमन्त्री ओलीको भ्रमण दलमा दुई कलाकारलाई पनि सहभागी गराइएको छ । नेपाली चलचित्रका ‘महानायक’ राजेश हमाल र चलचित्र निर्देशक एवं सञ्चारकर्मी दिनेश डिसी भ्रमण दलमा अटाएका छन् । प्रधानमन्त्रीको विदेश भ्रमणमा कलाकारलाई सहभागी गराइएको यो सम्भवत पहिलो घटना हो ।

केही दिन प्रधानमन्त्री ओलीले निजी निवासमा कलाकारसँग छलफल गरेका थिए । ओलीले कलाकारलाई कथाले मागेअनुसार नभई देशको आवश्यकताअनुसार काम गर्न आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीले भारतीय कलाकारसँग पनि अन्तक्र्रिया गर्ने कार्यक्रम छ । अन्नपूर्ण पोष्ट