भारतीय लगानीकर्ताको लगानी नेपालमा सुरक्षित गर्दछौं–ओली

937
views

नयाँ दिल्ली । तीन दिने राजकीय भ्रमणका क्रममा भारतीय उद्योग परिसंघले गरेको पहिलो कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय लगानीकर्ताहरुको लगानी नेपालमा सुरक्षित रहेको भन्दै नेपालमा लगानी गर्न आव्हान गरेका छन् ।

नेपालमा वाम गठबन्धनको सरकार आएपछि उदार अर्थव्यवस्थाबाट पछाडि फर्किने हो की भन्ने भारतीय लगानीकर्ताहरुको आशंकालाई संकेत गर्दै ओलीले भने, ’तीन चौथाइ भन्दा बढी संसदको बहुमतबाट नेपालमा स्थिर सरकार बनेको छ । लगानीका लागि अनुकूल वातावरण छ । स्थिर सरकार भनेकै स्थिर नीति नियम हो । हामी आर्थिक उदारीकरणलाई आत्मसाथ गर्छौं । हामीकहाँ राजनीतिक परिवर्तन मात्र पुरा भएको छैन्, युगै फेरिएको छ, हामी देखिने परिवर्तन गर्न चाहछौं । आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा पनि परिवर्तन चाहन्छौं ।’

लगानीको अनुकुल वातावरणको तर्क दिँदै ओलीले भने, ‘कर्मचारीतन्त्र पारदर्शी छ र भ्रष्टाचारमा हामीले शून्य सहनशीलता अपनाएका छौं । भ्रष्टाचारमुक्त प्रशासन संयन्त्रप्रति वर्तमान सरकार निकै संवेदनशील छ ।

जलविद्युत पर्यटन तथा कृषि क्षेत्रको लगानीलाइ प्राथमिकतामा राखेको भन्दै ओलीले भने, ‘नेपाल र भारतबीचको भौगोलिक, सांस्कृतिक समानताले भारतीय लगानीकर्तालाई सहज बनाउँछ ।’

नेपालमा लगानी गरौँ

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले, नेपालका लागि भारत चीन भन्दा ठूलो व्यापारिक साझेदार रहेको भन्दै भारतीय लगानीकर्तालाई लगानीका लागि आग्रह गरे । उनले भने, ‘हामी तपाईँहरुसँग संयुक्त लगानीमा काम गर्न तयार छौं । लगानीका लागि थुप्रै ठूला परियोजनाहरुको सम्भावना रहेको छ । उत्साहित छौँ । तपाईँहरुका लागि सही साझेदारको चुनावमा सहयोग गर्छौं ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले कार्यक्रममा नेपालको सन् २०३० सम्ममा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने नेपालको लक्ष्य प्रस्तुत गरेका थिए । त्यसैमा आधारित रहेर भारतीय पक्षका उद्योगी व्यवसायीहरुले नेपालको जलविद्युत् क्षेत्रमा बढी चासो देखाएका थिए ।

उनीहरुले जलविद्युतको लक्ष्य प्राप्तिका लागि नेपाल सरकारको नीति नियमहरुबारेमा चासो राखेका थिए । नेपालको जलविद्युत् क्षेत्रमा लगानी गरेका भारतीय ठूला कम्पनीहरु जीएमआर लगायत अन्य कम्पनीहरुको सहभागिता थियो ।