मोदी र ओलीबीच डेढघण्टा लामो कुराकानी

708
views

दिल्ली २४, चैत । तीनदिने राजकीय भ्रमणका लागि शुक्रबार नयाँदिल्ली आइपुगेका प्रधानमन्त्री केपी ओलीले उनका भारतीय समकक्षी नरेन्द्र मोदीसँग डेढ घण्टा लामो कुराकानी गरेका छन् । शुक्रबार साँझ दिल्लीमा ओली र मोदीबीच साढे ६ बजेदेखि ८ बजेसम्म ‘वान टु वान’ वार्ता भएको हो ।

ओली र मोदीबीच दिल्लीको लोक कल्याणकारी मार्गस्थित सरकारी निवासमा भेटवार्ता भएको हो । भेटवार्तामा नेपाल र भारतको सम्बन्धलाई थप समृद्ध बनाउने विषयमा विस्तृत छलफल भएको प्रधानमन्त्री ओलीले जानकारी दिए ।

भारतीय प्रधानमन्त्री मोदीसँगको भेटपछि पत्रकारसँग ओलीले भने, ‘नेपाल र भारतको सम्बन्धलाई थप समृद्ध बनाउने विषयमा विस्तृतमा छलफल भएको छ ।’ भारतसँगको असमझदारी हटेको हो भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले असमझदारी यसअघि नै हटिसकेको बताए ।

‘नेपाल–भारतबीच त्यस्तो असमझदारी केही पनि थिएन’, प्रधानमन्त्री ओलीले भने, ‘भएका असमझदारी यसअघि नै घटिसकेका छन् ।’ ओली र मोदीको भेटवार्तामा जलविद्युतमा लगानी, रेलमार्ग निर्माणको विषयमा समेत कुराकानी भएको छ । ओली परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सल्लाहकार विष्णु रिमालसमेत नलिई मोदीलाई भेट गर्न रेसकोर्स गएका थिए ।

प्रधानमन्त्री ओली दिल्लीमा पुगेपछि मात्र मोदीसँग ‘वान टु वान’ भेट तय भएको थियो । नेपाल र भारतका दुई प्रधानमन्त्रीबीच शनिबार औपचारिक भेटवार्ता गर्ने तय भएको छ ।

राजनीतिक भेटघाट

भारत भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले भारतीय वरिष्ठ राजनीतिज्ञ शरद यादवसँग भेट गरी राजनीतिक भेटघाट सुरु गरेका छन् । यादवसँगको भेटपछि ओलीले भारतीय प्रमुख प्रतिपक्ष दलका अध्यक्ष राहुल गान्धीसँग भेटेका छन् । डिसेम्बरमा कांग्रेस आई अध्यक्षको जिम्मेवारी सम्हालेका राहुलले नेपालका उच्च राजनीतिज्ञलाई भेटेको यो पहिलो हो ।

विपक्षी नेता गान्धीसँगको संक्षिप्त भेटपछि ओलीले भारतीय जनता पार्टीका नेतासँग अनौपचारिक भेट गरेका छन् । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहसहितको टोलीले प्रधानमन्त्री ओलीसँग भेट गरेको छ ।

प्रधानमन्त्री ओलीले शुक्रबार नै भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभालले भेट गरेका थिए । प्रधानमन्त्री मोदीको निवासमा हुने वार्ताको तयारीका लागि दोभालको भेट भएको हो ।

प्रधानमन्त्रीले शुक्रबार गरेको सबै शिष्टाचार भेटमा नेपालको वर्तमान राजनीतिक अवस्था र नेपाल(भारत सम्बन्धलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए ।

नेपाली दूतावासमा साँझ प्रधानमन्त्री ओलीले प्रवासी नेपालीलाई सम्बोधन गरेका छन् । प्रवासीसँगको छलफलपछि प्रधानमन्त्री ओली नेपाली दूतावासले उनको सम्मानमा दि इम्पेरियल होटलमा आयोजना गरेको रात्रिभोजमा सहभागी भएका थिए ।