विश्वकै दुर्लभ प्रजाति अर्नाको गणना

847
views

काठमाडौं, २८ चैत । कोशीटप्पु वन्यजन्तु आरक्षले विश्वकै दुर्लभ बबुल प्रजातिको अर्नाको गणना प्रारम्भ गरेको छ । वन्यजन्तु संरक्षण विभागको नीतिअनुसार प्रत्येक दुई वर्षको अवधिमा अर्ना गणना गरिँदै आएको छ ।

यसपटक भने अर्नाको संख्यामा कमी आउने अनुमान गरिएको छ । अघिल्लो दुई वर्षअघिको अर्ना गणनानुसार आरक्षमा ४३२ अर्ना थिए । एक वर्षअघि अर्नाको वंश संरक्षणका लागि वन्यजन्तु संरक्षण विभागको कार्ययोजनानुसार आरक्षबाट १३ अर्ना चितवन लगिएपछि अर्नाको संख्यामा कमी आएको हुनसक्ने अनुमान गरिएको हो ।

सुनसरी, सप्तरी र उदयपुर जिल्लाको बीच भागमा रहेको सप्तकोशीको सीमसार क्षेत्र अर्थात् विश्व रामसार क्षेत्रमा पहिलो पटक सूचीकृत कोशीटप्पु वन्यजन्तु आरक्षमा यस वर्षको अर्ना गणनाको तीनदिने अभियानको बराहक्षेत्र नगरपालिकाका प्रमुख नीलम खनाल र सुनसरीका प्रजिअ गोपालप्रसाद पराजुलीले प्रारम्भ गर्नुभएको थियो ।

त्यस अवसरमा प्रमुख खनालले नेपालको प्रमुख प्राकृतिक सम्पदामध्ये विश्वभरका पर्यटकलाई लोभ्याउन सकिने सम्पदाका रुपमा रहेको अर्ना तथा आरक्ष क्षेत्रमा रहेका दुर्लभ प्रजातिका वन्यसम्पदा सबै मिलेर संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

आरक्षका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले मध्यवर्ती क्षेत्रका स्थानीयवासीलाई आरक्षप्रति सकारात्मक दृष्टिकोण राखेर काम गर्न आग्रह गर्नुभयो । अर्ना गणनाका लागि चार टोली परिचालन गरिएको छ ।