उत्तर कोरियाले परमाणविक परीक्षण केन्द्र बन्द गर्ने

955
views

एजेन्सी । उत्तर कोरियाको परमाणविक परीक्षण केन्द्र आगामी मे महिनादेखि बन्द हुने भएको छ । दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले आइतबार सो जानकारी दिएको हो । आणविक परीक्षण केन्द्र बन्द गरेको जानकारी दिन दक्षिण कोरिया र अमेरिकाका आणविक वैज्ञानिकलाई प्योङयाङ बोलाउने तयारी गरेको छ ।

उत्तर कोरियाले सार्वजनिक कार्यक्रम आयोजना गरी पुङजी आणविक केन्द्र बन्द गर्न लागेको दक्षिण कोरियाली राष्ट्रपतिका प्रवक्ताले बताए । सो आणविक केन्द्र गत सेप्टेम्बरमा आंशिक रूपमा भत्किएको हुन सक्ने वैज्ञानिकहरूले बताउँदै आएका छन् ।

दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन र उत्तर कोरियाली नेता किम जोङ उनबीच शुक्रबार भएको शिखर वार्तामा कोरियाली प्रायद्वीपलाई निशस्त्र बनाउने विषयमा सहमति भएको थियो । महिनौँसम्मको वाक्युद्धपछि दुई देशका नेताले ६५ वर्ष लामो कोरियाली युद्ध अन्त्य गर्न सहमति जनाएका थिए ।

के भन्यो दक्षिण कोरियाले ?

शुक्रबार किम र मुनबीचको शिखर वार्तामा मे महिनादेखि आणविक परीक्षण केन्द्र बन्द गर्न किमले सहमति जनाएको दक्षिण कोरियाका राष्ट्रपतिका प्रवक्ता योन योङले जानकारी दिए ।

अन्तर्रा्ष्ट्रिय समुदायलाई आणविक परीक्षण केन्द्र बन्द गरेको जानकारी दिन उत्तरले दक्षिण कोरिया र अमेरिकाका आणविक वैज्ञानिकलाई प्योङयाङ बोलाउने तयारी भइरहेकोसमेत उनले जानकारी दिए ।

दक्षिणसँगको समय मिलाउन उत्तर कोरियाले आफ्नो ‘टाइम जोन’ परिवर्तन गर्न लागेको उनले जानकारी दिए । आणविक परीक्षण बन्दबारे उत्तरले टिप्पणी गरेको छैन ।

चार साताभित्र उत्तर कोरियासँग वार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग आगामी चार साताभित्र वार्ता गर्ने बताएका छन् । ‘उत्तर कोरियाका नेता किम जोङ उनसँग आगामी तीन या चार हप्तामा हामीले पनि वार्ता गर्नेछौँ,’ यसअघि ट्रम्पले उत्तर कोरियासँगको वार्ता अभूतपूर्व रूपमा सफल हुने धारणा व्यक्त गरेका थिए ।

ह्वाइट हाउसले पनि ट्रम्पको उत्तर कोरियाली नेतासँग छिट्टै वार्ता हुने जनाएको छ । ‘राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेतासँग चाँडै वार्ता गर्दै छन् । वार्ताको मिति केही दिनमै तय हुनेछ,’ ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

परीक्षणस्थलबारे के बुझ्न सकिन्छ ?

उत्तर कोरियाको उत्तर–पूर्वी पहाडी क्षेत्रमा अवस्थित पुङजी आणविक केन्द्र उत्तरको मुख्य आणविक केन्द्र मानिन्छ । मानटप पहाडको फेदीमा रहेको सुरुङभित्रबाट उत्तरले आणविक परीक्षण गर्दै आएको छ । सन् २००६ देखि अहिलेसम सो केन्द्रबाट ६ पटक आणविक परीक्षण भएका छन् ।

सन् २०१७ को सेप्टेम्बरमा भएको अन्तिम परीक्षणपछि सो क्षेत्रमा शृंखलाबद्ध कम्पन आएका थिए । परीक्षणस्थलको आन्तरिक भाग आंशिक रूपमा क्षति पुगेको भूगर्व्विद्ले अनुमान गरेका छन् ।

शिखर वार्तामा किमले उत्तर कोरियाली समकक्षीसँग सो केन्द्र बन्द हुने संकेतसमेत गरेका थिए । ‘काम नगर्ने परीक्षण केन्द्रलाई उत्तरले बन्द गर्न लागेको धेरैले बताएका छन्, तर ती उपर्युक्त अवस्थामा छन्,’ किमले भनेका थिए ।

मुन र आबेसँग ट्रम्पको फोनवार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनसँग फोनवार्ता गरेका छन् । वार्तामा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम र दक्षिणका राष्ट्रपति मुनबीच भएका वार्ताको प्रगतिबारे जानकारी लिएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

ट्रम्पले मुनसँग उत्तर कोरियाको पछिल्लो धारणाबारे चासो व्यक्त गरेका थिए । राष्ट्रपति ट्रम्पले जापानी प्रधानमन्त्री सिन्जो आबेसँग पनि फोनवार्ता गरेका छन् । वार्तामा उत्तर कोरिया र दक्षिण कोरियाबीचको शुक्रबार सम्पन्न शिखर वार्ताबारे चर्चा भएको थियो ।

चिनियाँ राष्ट्रपतिको अग्रिम शुभकामना

चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिका र उत्तर कोरियाबीच हुने शिखर वार्ताको सफलताको अग्रिम शुभकामना दिएका छन् । राष्ट्रपति सीले वार्ता्मिति तोक्न पनि दुवै देशलाई आग्रह गरेका छन् ।

विश्वले नै उत्सुकतापूर्वक अवलोकन गरेको प्रस्तावित वार्ता सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न उनले अमेरिका र उत्तर कोरियालाई आग्रह गरेका छन् ।

किम जापानसँग पनि वार्ता गर्न इच्छुक

उत्तर कोरियाली नेता किम जोङ उन जापानी प्रधानमन्त्री सिन्जो अबेसँग पनि वार्ता गर्न इच्छुक देखिएका छन् । किम जापानसँग कुनै पनि वेला वार्ता गर्न तयार रहेको दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका प्रवक्ताले बताएका छन् ।

दक्षिण कोरियाली राष्ट्रपति मुनसँग शुक्रबार भएको वार्ताका क्रममा किमले आफू जापानसँगको वार्ताका लागि इच्छुक रहेको र त्यसका लागि उत्तर कोरियाले आन्तरिक तयारी गरेको दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले जनाएको छ ।

कोरियाली प्रायद्वीपमा खुसियाली

उत्तर कोरियाली नेता किम र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनबीचको वार्ता सफल भएसँगै कोरियाली प्रायद्वीपमा खुसी छाएको छ । सन् १९५० देखि ५३ सम्म भएको कोरियाली युद्धका कारण छुट्टिएका एउटै परिवारका सदस्यले पुनर्मिलन हुने अपेक्षा गरेका छन् ।