लमजुङको घलेगाउँ, भुजुङ, सिउरुङ, सिङदी, करापु, गिलुङ, भुलभुले, खुदी, ताघ्रिङ, घेर्मु, हिलेटक्सार, फलेनी, ढोडेनी, पाचोक, श्रीमञ्ज्याङ, प्यारजुङ गौंडा, इलमपोखरी, दूधपोखरी लगायत बाक्ला गुरुङ वस्तीहरुमा घाँटु नाच नचाउने गरिन्छ ।
घाँटु नाचलाई गुरुङ संस्कृतीको धरोहरको रुपमा लिने गरिन्छ । गुरुङ बस्तीमा साना नानीदेखि बृद्ध आमाहरुसम्म सबैले सजिलैसँग घाँटु नाच्ने गर्दछन् । तिनैले नाचेको घाँटु नाचले गुरुङ बस्तीसम्म पुग्ने सबैको मन लोभ्याउने गर्दछ ।
हिजोआज गुरुङ बस्तीहरुमा पुग्ने स्वदेशी तथा विदेशी जो कोही पर्यटकहरुलाई घाँटु नाँच देखाएर स्वागत गरिने प्रचलन कुनै नयाँ चलन पनि होइन् । गुरुङ र गुरुङसेनीहरु गाउँमा पाहुना आएपछि हतारहतार गरी सामुदायिक भवनमा गुन्द्री ओच्छ्याएर घाँटु नाच्न थाल्छन् ।
बसन्त पञ्चमीबाट शुरु भएको घाँटु नाच बैशाख पुर्णिमापछिको पञ्चमीमा समापन गरिने प्रचलन गुरुङ गाउँहरुमा रहेको छ । गुरुङ संस्कृतिको अमूल्य निधिको रुपमा रहेको यो नाँच शास्त्रीय नाच पनि हो । सती र बाह्रमासे गरी यो नाच दुई थरीका हुन्छन् । सती घाँटु श्रीपञ्चमीमा शुरु भई बैशाख पूर्णिमामा अन्त्य गरिन्छ ।