२२ तला धरहरा निर्माणका लागि (डिपिआर) तयार, सवा चार अर्ब लगानी

905
views

काठमाडौँ, १९ गते । ०७२ को भुकम्पले ध्वस्त बनाएको ऐतिहासिक धरहराको पुनर्निर्माण दुई महिनाभित्रै सुरु गरिने भएको छ । नेपाल पुनर्निर्माण प्राधिकरणले आगामी १५ असारसम्म धरहराको शिलान्यास गर्ने गरी निर्माण प्रक्रिया अघि बढाएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. युवराज भुसालले बताए ।

सरकार आफैँले धरहरा निर्माण गर्ने गरी प्राधिकरणले धरहराको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारसँगै लगानीको मोडालिटीसमेत तयार भइसकेको उनले बताए । ‘अहिले टेन्डर डकुमेन्ट तयार गर्दै छौँ,’ उनले भने, ‘अबको डेढ साताभित्रै टेन्डर आह्वान गर्ने, जेठ अन्त्यसम्ममा टेन्डर अवार्ड गर्ने र असारभित्रै शिलान्यास गर्ने कार्ययोजना छ ।’

यसअघि नेपाल टेलिकमले धरहरा बनाउने गरी प्रक्रिया अघि बढाइएको थियो । २९ असार ०७३ मा मन्त्रिपरिष्दको बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पुरातत्व विभागसँगको समन्वयमा धरहरा निर्माण गर्ने जिम्मा नेपाल टेलिकमलाई दिएको थियो । तर, टेलिकमले धरहरालाई व्यावसायिक रूपमा सञ्चालन गर्ने प्रस्ताव गरेपछि पुरातत्व विभागले त्यसलाई रिजेक्ट गरेको हो । आफ्नो प्रस्तावलाई पुरातत्व विभागले अस्वीकार गरेपछि टेलिकमले धरहरा निर्माणबाट हात झिकेको प्रवक्ता सोभन अधिकारीले बताए ।

अर्बौं उठेको हुनुपर्छ स् पूर्वअर्थमन्त्री डा. महत
पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. रामशरण महतले ऐतिहासिक सम्पदा पुनर्निर्माणका लागि टेलिफोन सेवा शुल्कमा १ प्रतिशत थप गर्ने आफ्नो निर्णयपछि अर्बौं रुपैयाँ उठेको हुनुपर्ने बताए । उनले बिहीबार ट्विट गर्दै यस्तो बताएका हुन् । उनले लेखेका छन्, ‘धरहरालगायत ऐतिहासिक सम्पदा पुनर्निर्माणका लागि ०७२ र ७३ को बजेटमा मैले प्रस्ताव गरेको ‘हाम्रो धरोहर हाम्रै दायित्व’ अभियानमा सबैको सहभागिता जुटाउन टेलिफोन बिलमा १ प्रतिशत दस्तुर थपेर निर्माण भएको सम्पदा कोषमा अर्बौं रुपैयाँ जम्मा भैसकेको हुनुपर्छ, दुर्भाग्य भत्केको धरहरा उही अवस्थामा छ ।’

सम्पदा पुनर्निर्माण करबाट कति उठ्यो ?
तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले आर्थिक वर्ष ०७२ र ७२ को बजेटमार्फत दूरसञ्चार सेवा दस्तुरमा १ प्रतिशत थप कर लगाउने घोषणा गरेका थिए । भूकम्पपछिको सम्पदा पुनर्निर्माणका लागि भन्दै सरकारले दूरसञ्चार सेवा दस्तुरमा १ प्रतिशत थप गर्दै ११ प्रतिशत पुर्याएको थियो । अर्थ मन्त्रालयका अनुसार हालसम्म सम्पदा पुनर्निर्माण करबाट १ अर्ब ६० करोड रुपैयाँ उठिसकेको छ । आर्थिक वर्ष ०७२ र ७३ मा दूरसञ्चार सेवा प्रदायकले सेवा शुल्कमार्फत कुल ६ अर्ब २७ करोड रुपैयाँ, आव ०७३ र ७४मा ६ अर्ब ५४ करोड रुपैयाँ र चालू आवको चैत मसान्तसम्म ४ अर्ब ६९ करोड रुपैयाँ राजस्व तिरेका छन् ।

डिपिआरअनुसार धरहराको कुल लागत करिब ४ अर्ब २७ करोड रुपैयाँ हुनेछ । प्राधिकरणका अनुसार धरहरा र परिसरको कुल क्षेत्रफल २४ रोपनी हुनेछ । भूकम्पले भत्काएको धरहरालाई सिसाले छोपेर राखिनेछ भने भत्किएको धरहरासँगै नयाँ धराहरा निर्माण हुनेछ । नयाँ निर्माण हुने धरहरा ६९.२ मिटर अग्लो हुनेछ । त्यसमाथि १२ मिटरको गुम्बज निर्माण गरिने प्राधिकरणका सहसचिव राजुमान मानन्धरले जानकारी दिए ।

०७३ फागुन ४ मा प्रधानमन्त्री केपी ओलीले ‘मेरो धरहरा मै बनाउँछु’ अभियान सुरु गरेका थिए । उक्त अभियानअन्तर्गत धरहरा निर्माण कोषमा २४ करोड जम्मा भइसकेको छ । सो कोषमा सहयोग रकम आउने क्रम जारी नै रहेको छ । त्यस्तै, धरहरा निर्माणका लागि नेपाल टेलिकमले १ अर्ब रुपैयाँ सहयोग दिने प्रतिबद्धता जनाएको छ । यसअनुसार हालसम्म १ अर्ब २४ करोड रुपैयाँ लगानी जुटिसकेको छ । बाँकी रकम सरकारले खर्च गर्ने उनले बताए ।