कालीगण्डकी बहुउद्देश्यीय परियोजना अघि बढाउन जनप्रतिनीधिको दबाब

1589
views

पर्वत । विद्युत, सिँचाइ र जल यातयातसमेत सञ्चालन गर्न सकिने जलाशययुक्त कालीगण्डकी बहुद्देश्यीय परियोजना अघि बढाउन दबाब दिइएको छ । सो परियोजना अघि बढाउन पर्वत, बाग्लुङ र गुल्मीका जनप्रतिनिधि तथा स्थानीय तहका प्रमुखहरूले सरकार र लगानी बोर्डसँग आग्रह गरेका छन् ।

कालीगण्डकी किनारमा रहेका पर्वतको फलेबास र कुस्मा नगरपालिका, बिहादी गाउँपालिका, बाग्लुङको जैमुनि नगरपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिकाले संस्थागत निर्णय गरेर परियोजना अघि बढाउन ऊर्जा मन्त्रालय र लगानी बोर्डमा प्रस्ताव पेस गरेका हुन् । सो परियोजना अगाडी बढाउन पर्वत र बाग्लुङबाट प्रतिनिधिसभामा निर्वाचित सांसदहरूले अर्थमन्त्री डा. युवराज खतिवडालाई समेत निवेदन दिएका छन् ।

पर्वतबाट निर्वाचित सांसद पदम गिरी, बागलुङबाट निर्वाचित सांसदहरू देबेन्द्र पौडेल र डा. सूर्य पाठकले अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटेर परियोजना अघि बढाउन आग्रह गरेका छन् । फलेबास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले उर्जा मन्त्री वर्षमान पुन र लगानी बोर्डका प्रमुख कार्यकारी निर्देशक महाप्रसाद अधिकारीलाई स्थानीय तहका निर्णय प्रस्तावको रूपमा पेश गरेर परियोजना अघि बढाउन आग्रह गरेका छन् ।

नेपाल विद्युत् प्राधिकरणले २०५२ सालमा गरेको प्रारम्भिक अध्ययनका क्रममा कालीगण्डकी बहुउद्देश्यीय परियोजनाबाट १ हजार मेघावाट विद्युत् उत्पादन गर्न सकिने र कालीगण्डकी किनारका हजारांै हेक्टर जमिनमा सिंचाइ सुबिधा पु¥याउन सकिने बताइएको छ ।

कालीगण्डकी नदीमा पर्वतको बिहादी गाउँपालिका १ बाच्छा र बिहादी तथा बाग्लुङको जैमुनी नगरपालिका ८ छिस्तीको बीचमा कालीगण्डकी नदीमा १ सय ४५ मिटर अग्लो उच्च बाँध बाँधेर ८ किलोमिटर शुरूङबाट बिहादी गाउँपालिकाको ६ गोर्लाङमा विद्युत् गृह बनाउन सकिने दाबी गरिएको छ ।