प्रधानमन्त्रीको चीन भ्रमण असार पहिलो साता

873
views

काठमाडौ, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली असार पहिलो साता चीन भ्रमणमा जाने गरी तयारी सुरु भएको छ । चीनले सांघाई कोअपरेसन अर्गनाइजेसन (एससिओ)को सम्मेलनपछि प्रधानमन्त्रीलाई बेइजिङमा स्वागत गर्ने सन्देश पठाएको छ ।

२६ र २७ जेठमा चीनले एससिओको सम्मेलन आयोजना गर्दै छ, जहाँ राष्ट्रपति सी जिनपिङ सहभागी हुनेछन् । प्रधानमन्त्री ओली पनि १५ जेठमा बजेट ल्याएपछि चीन जान चाहन्छन् ।

‘जेठ २४ देखि २६ सम्म प्रधानमन्त्री ओली बेइजिङमा रहने गरी चीन भ्रमणका विषयमा छलफल भएको थियो, तर त्यो मितिमा चिनियाँ नेतृत्वको समय मिल्ने अवस्था छैन,’ ‘त्यसकारण समय मिलाएर असारको पहिलो साता भ्रमण हुन सक्ने अवस्था छ ।’

प्रधानमन्त्रीलाई कूटनीतिक मामिलामा सल्लाह दिँदै आएका नेकपाका नेता डा. राजन भट्टराईले प्रधानमन्त्रीले चीन भ्रमण गर्ने निश्चित भएपनि मिति टुंगिन बाँकी रहेको बताए ।

‘परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली वैशाख पहिलो साता चीन भ्रमणमा जाँदा प्रधानमन्त्रीको चीन भ्रमणबारे चिनियाँ नेतृत्वसँग छलफल भएको थियो । ५ वैशाखमा चीनका परराष्ट्रमन्त्री वाङ यीले समकक्षी ज्ञवालीसँग प्रधानमन्त्री केपी ओलीलाई यथाशीघ्र चीनमा स्वागत गर्न आतुर रहेको बताएका थिए ।

परराष्ट्रमन्त्री ज्ञवालीले पनि चिनियाँ राष्ट्रपति सी जिनपिङलाई नेपालमा स्वागत गर्न नेपाल आतुर रहेको बताएका थिए ।