भारतसँग झुकेर नभइ शीर ठाडो पारेर सम्बन्ध सुधार गर्ने प्रधानमन्त्री

948
views

हेटौंडा, जेठ २१-प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग झुकेर नभइ शीर ठाडो पारेर सम्बन्ध सुधार गरेको बताएका छन् । सोमबार ३ नम्बर प्रदेशसभाको विशेष बैठकलाई हेटौंडामा पहिलोपटक सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतले ‘नेपालको आन्तरिक मामिलामा हस्तक्षेत्र गर्दिनँ’ भनेपछि सम्बन्ध पुनःस्थापना भएको दाबी गरे ।

उनले नेपालीहरुले आफ्नो आनीबानी सच्याउन जरुरी रहेको बताउँदै उत्पादन र रोजगारीका अवसर सिर्जना गराउने क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए । उनले अब नेपालमा जनताका लागि रकार आएको भन्दै कोही पनि भोकै नमर्ने दाबी गरे । प्रधानमन्त्री ओलीले अबको केही वर्षभित्र कसैले भीख माग्नुपर्ने अवस्था आयो भने सरकारको नीति, कार्यक्रम र प्रणालीको अर्थ नहुने जिकिर गरे ।
भ्रष्टाचारीको मुहारसमेत नहेर्ने, भ्रष्टाचार गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिँदै प्रधानमन्त्री ओलीले मुलुक विकासका लागि भ्रष्टाचार उन्मूलन अभियान नै सन्चालन गर्ने सुनाए । उनले हेटौंडा कपडा कारखाना तत्काल सन्चालनमा ल्याइने घोषणा गर्दै त्यसका लागि आवश्यक मेसिन तत्काल ल्याइने पनि बताए ।
प्रधानमन्त्री ओलीले भारतलेसमेत प्रतिस्पर्धा गर्न नसक्ने गरी सिमेन्टको उत्पादन गर्नसक्ने कच्चापदार्थ नेपालसँग रहेको भन्दै सिमेन्ट उत्पादन गरी निर्यात गर्ने बताए ।