नेपाल–भारतको सीमा ह्वाङ्ङै भो ‘काँडे तार लगाउनुपर्छ’

1082
views

काठमाडौं  । खुला सीमाले प्रशस्त अवसरसँगै हदैसम्मको चुनौती दिएको भन्दै सीमाविद बुद्धिनारायण श्रेष्ठले नेपाल–भारत सीमाना जटिल र विश्वकै लागि अध्ययनयोग्य रहेको बताएका छन् । उनले विस्तारै खुल्ला हुँदै गएको सिमाना अहिले ह्वाङ्ङै भएको उल्लेख गरे ।

’नेपालको अन्तराष्ट्रिय सीमा नियमन, खुल्ला सीमानाः अवसर र चुनौती’ विषयक कार्यक्रममा नापी विभाग पूर्व महानिर्देशक समेत रहेका श्रेष्ठले नेपाल–भारतको सिमानामा काँडे तार लगाएर नियमन गर्नु पर्ने बताएका हुन् ।

सुगौली सन्धीअघिसम्म नेपाल र भारतबीचको सिमाना बन्द थियो । सुगौली सन्धीपछि विस्तारै श्री ३ महाराजको अनुमति लिएर नेपालमा भारतीय कार्यालयहरु खुल्न थालेको बताउँदै खुला सीमाका कारण मुलुकमा अपराध, लागुपदार्थ ओसारपसार, तस्करी, मानवबेचविखन बढेको बताए ।

सीमा नियमनमा ढिलाइ गर्नु जोखिमपूर्ण रहेको भन्दै श्रेष्ठले नेपालबाटै भारतीय विमान अपहरणको प्रसंग कोट्याए । उनले भने ठूलो दुर्घटना नभएसम्म सीमा नियमनमा कसैको ध्यान गएन ।

‘सीमा खुला छाड्नु हुदैन, यसले स्लामिक आंतकवादी समेत आउन सक्छ’, ‘हवाई अपहरण जस्तो ठूलो घटना पर्खिनु हुँदैन, छिटो नियमन गर्नुपर्छ ।’ उनले सीमामा सीसीटिभी राखेर सर्वप्रथम परिचय–पत्र व्यवस्था गर्नु पर्ने बताए ।

उनले नेपालले चाहे पनि नचाहे पनि नियमन सुरु भइसकेको बताए । नियमन गर्ने काम भारतले नै सुरु गरेको छ । भारतले नेपालको सीमा क्षेत्रमा ४५ हजार एसएसबी खटाएको छ । यो हिसाबले एक किलोमिटर क्षेत्रमा २४ जना एसएसबी खटिन्छन् ।

हाम्रो नेपालमा ६ हजार जना सशस्त्र प्रहरी तैनाथ गरिएको छ । यस हिसाबले एक किलोमिटरको दूरीमा ३ जनामात्रै पुग्छ । भारतमा बोर्डर अब्जरभेसन पोष्ट २०० वटा छ भने नेपालमा ९० वटामात्रै छ ।

कार्यक्रममा नेपालका लागि पूर्व भारतीय राजदुत दीपकुमार उपाध्ययले सीमा नियमन आवश्यक रहेको बताए । उनले समय सापेक्ष नियमन गर्नु पर्ने बताउँदै अन्तराष्ट्रिय नियम कानुन मिचेर सीमा सडक, बाँध लगायतका संरचना भारतले बताइरहेको बताए ।

स्वतन्त्र युवा प्रजातान्त्रिक संघद्वारा आयोजित कार्यक्रममा पूर्वराजदुत प्रद्युनविक्रम शाह, विजयकान्त कर्ण र सीमाविद डा. उद्धव प्याकुरेल, इन्द्रकुमारी अधिकारीले नेपाल भारतको सीमालाई खुला राख्नु पर्ने बताए ।