राष्ट्रिय सभाका अध्यक्षद्वारा संविधान दिवसका अवसरमा शुभकामना

1019
views

काठमाडौँ, ३ असोज । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले संविधान दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुप्रति शुभकामना व्यक्त गर्नुभएको छ । संविधान दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष तिमिल्सिनाले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो जीवनको उत्र्सग गर्नुहुने शहीदप्रति हादिक श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

उहाँले गर्दै देशको विभिन्न कालखण्डमा राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, शान्ति र लोकतन्त्रका लागि भएका आन्दोलनहरु एवंं जनप्रतिनिधिमार्फत संविधान जारी गर्ने जनचाहना मुताबिक जारी नेपालको संविधान प्राप्त गर्न आफ्नो ठाउँबाट संर्घष गर्ने सबैप्रति आभार व्यक्त गर्नुभएको छ ।

अध्यक्ष तिमिल्सिनाले संविधानको कार्यान्वयन गर्ने सिलसिलामा संघ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न गरी देशमा ७६१ सरकार आफ्नो जिम्मेवारी पुरा गर्न क्रियाशिल रहेको बताउँदै संघीयता, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिक प्रतिनिधित्व प्रणालीलगायत नवीनतम अवधारणा समाविष्ट वर्तमान संविधानले कानुनी शासन, आवधिक निर्वाचन, स्वतन्त्र न्यायपालिका, पूर्ण प्रेस स्वतन्त्रता, बहुमतको शासन र अल्पमतको रचनात्मक प्रतिपक्ष जस्ता संविधानवादका मुलभुत विशेषताहरुलाई अवलम्बन गरेको छ जुन लोकतान्त्रिक शासन व्यवस्थाको गहनाको रुपमा रहेको उल्लेख गर्नुभएको छ ।

उहाँले समाजवाद उन्मुख राष्ट्र निमार्ण गर्ने लक्ष्य लिएको नेपालको संविधानले नागरिकका राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक हक अधिकारहरुको सुनिश्चित गरेको बताउँदै सदियौदेखि पछि परेका समुदायलाई राज्यको मुलप्रवाहिकरण गर्न वर्तमान संविधानले दिशानिर्देश गरेको उक्त सन्देशमा भन्नुभएके छ ।

संविधान प्रदत्त मौलिक हक अधिकार कार्यान्वयनको लागि संघीय संसदले आवश्यक कानुनहरु निर्माण गरी कार्यान्वयनको चरणमा पुगेको छ । बिकेन्द्रीत र संघात्मक शासन प्रणालीलाई प्रभावकारी सञ्चालन गर्न आवश्यक ऐन कानुन समयमै निर्माण गरी संवैधानिक मर्म मुताबिक संघ, प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तका आधारमा शासन सञ्चालन गर्नु बाञ्छनीय देखिएको स्पष्ट पार्नुभएको छ ।