नवलपुरमा संविधान दिवस विभिन्न कार्यक्रम गरि मनार्इदै

1200
views

नवलपुर, असोज–३ संविधान दिवसको अवसरमा नवलपुरको कावासोतीमा बुधबार प्रभातफेरी र शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ ।

नवलपुरका जनप्रतिनिधि, कर्मचारी, संघसंस्थाका प्रतिनिधिलगायतको सहभागितामा सदरमुकाम कावासोतीको फलफूलचोकबाट निस्केको प्रभातफेरि सभापति चोकमा पुगेर कावासोती नगरपालिकामा आई सभामा परिणत भएको थियो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णचन्द्र नोपलीले संविधान जारी भएको चार वर्ष बितिसक्दा पनि संविधानको कार्यान्वयन हुन नसकेको बताएका थिए । पछिल्लो समय महिला हिंसाका अमानवीय घटनाहरुले र दोषीमाथि कारबाही हुन नसक्नु कानुनी राज्यको उपहास भएको टिप्पणी गरेका थिए ।
यसैगरी गण्डकी प्रदेश सांसद ओमकला गौतमले पनि संविधानमा उल्लेख भएका हकअधिकारको प्रत्याभूति गर्न नपाएको गुनासो गरेकी थिइन् । दिनदिनै बढ्दै गरेको महिला िहसा हत्या, बलात्कार जस्ता अपराधलाई जरैबाट निर्मूल पार्न र दोषीलाई कडा भन्दा कडा कार्वाही गरी उम्कन नदिन बलियो सुरक्षा संयन्त्र आवश्यक रहेकोमा उनले जोड दिइन् ।
जिल्ला समन्वय समितीका संयोजक चेसराम आले, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डे, नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष होमराज रानाभाटलगायतका वक्ताहरुले संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गरेका थिए ।
संविधान दिवसको अवसर पारेर बुधबार जनप्रनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गरिएको छ । अपरान्ह ४ बजे कावासोती–१२ को राजमन्दिर खेलमैदानमा प्रतियोगिता हुने कावासोती नगरपालिकाका इञ्निनियर पवन रुपाखेतीले बताए ।
नवलपरासी पश्चिममा पनि दिवसको अवसरमा वृहत् सरसफाइ कार्यक्रम गरिएको छ । मंगलबारबाट सुरु भएको सरसफाइ कार्यक्रम बिहीबारसम्म रहने छ । बुधबार पश्चिमका छ वटा स्थानीय तह, सुनवल नगरपालिका, बर्दघाट नगरपालिका, सुस्ता गाउँपालिका, प्रतापपुर, पाल्हीनन्दन गाउँपालिका, प्रतापपुर गाउँपालिका, सरावल गाउँपालिकामा सरसफाइ कार्यक्रम गरिएको छ भने सदरमुकाम परासीको रामग्राम नगरपालिकामा मंगलबार सरसफाइ गरिएको थियो ।