चालकको आन्दोलनले सावरीसाधन नचल्दा यात्रुहरु मारमा

1177
views

प्रकाश सापकोटा
नवलपुर असोज– ५  सवारी चालकहरुको आन्दोलनले गर्दा नवलपुर, नवलपरासी र चितवनको यातायात पुर्ण रूपमा प्रभावित भएको छ । सवारी चालकहरु सवारी साधन नचलाउने भन्दै आन्दोलित भएपछि त्यसको प्रभाव परेको हो ।

जिल्लामा सार्वजनिक यात्रुवाहक बस र ट्रक चलेका छैनन् । केही छिटफुट रुपमा अटो र निजि सवारी साधनहरु सञ्चालनमा रहे पनि अधिकांश सवारीसाधन चलेका छैनन् । सावरीसाधन नचल्दा यात्रुहरु मारमा परेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका संयोजक कपिल पाण्डेले हामीहरुको आन्दोलनले भन्दा पनि मजदुरहरुको आन्दोलनले यातायात ठप्प भएको बताए । यदि कुनै दुर्घटना भएर मानिसको मृत्यु भएमा चालक १० वर्ष जेल बस्नुपर्ने गरी सरकारले कानुनमा संशोधन गरे पछि सवारी चालकहरु आन्दोलनमा उत्रिएको जानकारी दिए ।
हालसालै मात्रै संशोधन भएको सवारी तथा यातायात व्यवस्था ऐन–२०४९ मा केही बुँदाहरु चालकहरुको हितमा नरहेको भन्दै त्यसमा संशोधनको माग गर्दै नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले सवारीसाधन नचलाउने भन्दै आन्दोलन सुरु गरेका हुन् । चालकहरुको आन्दोलनको कारण मंगलबार समेत सवारीसाधन सञ्चालन हुन सकेको थिएन । चालकहरुले यातायात व्यवस्था ऐन–२०४९ को दफा १६१ को १ र २ , त्यस्तै दफा १६२ को १ र ३ लाई संशोधन गर्नुपर्ने नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समिति चितवनका प्रतिनिधि लालप्रसाद गौतमले माग गरे । संघर्ष समितिले अहिलेको ऐनमा दफा १६१ को उपदफा १ मा ज्यान मार्ने मनासायले भएको सवारी दुर्घटनामा चालकलाई जन्मकैदको व्यवस्था गरिएको छ । सवारी चालकहरुले ऐनको दफा १६२ को उपदफा २ मा सर्तकता नअपनाई ,लापरबाही गरी सवारी चलाएर कसैको मृत्यु भएमा ३ वर्षदेखि १० वर्षसम्मको कैद हुने व्यवस्था रहेकोले उपदफा १ खारेज गर्नुपर्ने माग गरेका छन् । आन्दोलतरत सवारीचालकहरुले आफूहरुको माग पूरा नभएसम्म सवारीसाधन नचलाउने बताए । चितवनबाट पोखरा, काठमाडौं, पुर्वतर्फ छुट्ने केही पर्यटन बसहरु भने निर्वाध सञ्चालन भइरहेका छन् ।