नार्कको सबै प्रदेशमा कृषि अनुसन्धान निर्देशनालय स्थापना हुँदै

1073
views

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले प्रदेशस्तरमा अनुसन्धान निर्देशनालय स्थापना गर्ने भएको छ । नार्कले आफूलाई संघीय संरचनामा ढाल्न निर्देशनालय स्थापनाको सोच अघि बढाएको हो ।

हाल मुलुकका ६२ जिल्लामा नार्कको सञ्जाल विस्तार भएपनि प्रदेशस्तरमा संगठन छैन । नार्कका सूचना अधिकृत बाबुराम पौडेलले संघीय संरचनाअनुरूप अघि बढ्न नार्कले सातै प्रदेशमा अनुसन्धान निर्देशनालय स्थापनाको तयारी थालेको बताए ।

नार्कले प्रदेश १ मा सुनसरी, २ मा बाराको परवानीपुर तथा गण्डकी प्रदेशमा कास्कीको लुम्लेमा निर्देशनालय खोल्ने प्रस्ताव अघि बढाएको छ । नार्कको प्रदेश नं ३ मा मुख्यालय नै छ । प्रदेश ५ मा बाँके (खजुरा) मा दिर्नेशनालय राख्ने सम्भावना छ । यस्तै कर्णाली प्रदेशको सुर्खेत कृषि केन्द्रको स्तरोन्नति भएर निर्देशनालयमा बदलिनेछ । प्रदेश ७ मा अहिलेको क्षेत्रीय कृषि अनुसन्धान केन्द्र डोटीलाई अनुसन्धान केन्द्र बनाई कैलालीको मुसरियामा नयाँ कृषि अनुसन्धान निर्देशनालय खोल्न प्रस्ताव गरिएको छ ।

प्रदेश १ मा खुल्ने निर्देशनालयले बंगुर, चौँरी, स्याँबोचे, अलैँची, किबी, कागती र मुसुरोलाई विशेष महत्व दिनेछ । प्रदेश २ मा भैँसी, आँप, लिची, मसिनो धान, कागती र मुसुरो, प्रदेश ३ मा गाई, कुखुरा, कफी र किबी, प्रदेश ५ मा बाख्रा, कफी र मुसुरो, कर्णाली प्रदेशमा बाख्रा, जडीबुटी र स्याउ तथा प्रदेश ७ मा जैतुन, जडीबुटी, स्याउ, बाख्रा र मुसुरोलाई प्रमुख अनुसन्धानको केन्द्र बनाउनेले लक्ष्य राखेको छ ।

हालको बाख्रा अनुसन्धान केन्द्र बन्दीपुर राष्ट्रिय बाख्रा अनुसन्धान, कृषि अनुसन्धान केन्द्र राजिकोटलाई स्याउ अनुसन्धान तथा भेडा अनुसन्धान केन्द्र जुम्ला भेडा अनुसन्धान कार्यक्रमको रूपमा स्तरोन्नति हुनेछ ।