भूकम्पपछि तीनलाख घर बने, डेढ अर्ब वितरण

849
views

काठमाडौँ, १३, असोज । भूकम्पपछि पुनःनिर्माण कार्य सुरु भएका साढे पाँच लाख घरहरूमध्ये तीन लाख घरको निर्माण कार्य पूरा भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पाँच लाख ५५ हजार छ सय १२ निजी घरमध्ये दुई लाख ९६ हजार ५१४ घरको पुनर्निर्माण सम्पन्न भएको जनाएको छ ।

पुनर्निर्माणको कार्यको जिम्मेवारी स्थानीय तहलाई दिइएको र स्थानीय तहमा पठाइने वरिष्ठ इन्जिनियरसहितको प्राविधिक सहयोगबाट बन्दै गरेका घरहरुको पुनर्निर्माण छिटो सम्पन्न गर्न सहयोग पुग्ने प्राधिकरणका प्रवक्ता पीताम्बर घिमिरेले बताए ।

भूकम्पबाट घर क्षति भएकामध्ये अनुदान सम्झौता सम्पन्न लाभग्राही संख्या भने सात लाख २३ हजार ७२८ छ । तीमध्ये सात लाख १७ हजार ९६४ लाभग्राहीले पहिलो किस्ता लिइसकेका छन् ।

त्यसैगरी, दोस्रो किस्ता लिने लाभग्राहीको संख्या पाँच लाख तीन हजार ३६ पुगेको छ । दुई लाख ६६ हजार ९०४ लाभग्राहीले तेस्रो किस्ता बुझिसकेका छन् । गुनासो सम्बोधनपछि कुल पुनर्निर्माण लाभग्राहीको संख्या आठ लाख १० हजार ६९० पुगेको छ । त्यस्तै, प्रवलीकरणको सूचीमा परेका लाभग्राहीको संख्या ६१ हजार ८९१ पुगेको छ । सबैभन्दा बढी घर सिन्धुपाल्चोकमा साढे ४९ हजार र त्यसपछि करिब ४५ घर दोलखामा निर्माण भएका छन् । सबैभन्दा कम लमजुङमा सातवटा घर बनेका छन् ।

डेढ अर्ब अनुदान वितरण
भूकम्पबाट क्षतिग्रस्त भएका निजी आवास निर्माणमा असार समान्तसम्म एक खर्ब ३८ अर्ब २१ करोड ५२ लाख ९४ हजार ५१८ रुपियाँ वितरण भएको छ । चालु आर्थिक वर्षका लागि पुनर्निर्माण प्राधिकरणले ८३ अर्ब ४१ करोड ६८ लाख ३ हजार रुपियाँ विनियोजन गरेको छ ।
यसमध्ये हालसम्म करिब १० अर्ब रुपियाँ वितरण भइसकेको जानकारी प्राधिकरणले दिएको छ । सरकारले बजेट कार्यक्रममार्फत् यस आर्थिक वर्ष्भित्र निजी आवास पुनर्निर्माणको कार्य सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

थपिँदै लाभग्राही
भूकम्प अति प्रभावित १४ जिल्लामा छुट तथा पुनः जाँच सर्वेक्षणअन्तर्गत सङ्कलित तथ्याङ्क विश्लेषण गरी एक लाख १८ हजार ७८० गुनासोको सुनुवाइ गरेको छ । यसबाट ४२ हजार ४२२ लाभग्राही सूचीमा थपिएका छन् । ३५ हजार ५०५ घरधुरी प्रवलीकरण लाभग्राहीमा समावेश भएका छन् भने २८ हजार ५७४ गुनासोकर्ता लाभग्राही हुन अयोग्य देखिएका छन् ।