विकास र समृद्धिका लागि शान्ति र स्थायीत्व आवस्यक : गृहमन्त्री थापा

893
views

नवलपुर, असोज–१७ बुधबार भरतपुरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै गृहमन्त्री रामबहादुर थापाले विकास र समृद्धिका निम्ति सुशासन, शान्ति र स्थायीत्व महत्वपूर्ण पक्ष भएको बताएका छन् । यो सरकार निर्माण भएपछि शान्ति र स्थायीत्वका निम्ति महत्वपूर्ण उपलब्धीहरु हासिल भएको बताए ।

गृहमन्त्री थापाले यो सरकार गठन हुनु अगाडि र प्रारम्भिक चरणमा भएको दैनिक जसो हुने विस्फोट, चन्दा आतंकलाई निस्तेज गर्दै शान्ति र स्थायीत्वको लागि सरकराले महत्वपूर्ण कदमहरु चालेको थापाले बताए ।
आर्थिक अपराध, सिण्डीकेट, तस्करी तथा भ्रष्टाचार विरुद्ध सरकारले महत्वपूर्ण उपलब्धी हासिल गरेको गृहमन्त्री थापाको भनाइ छ । घरेलु हिंसा वृद्धि हुनुका कारण मदिरा र लागु औषध रहेकोले यसको नियन्त्रण गर्नका लागि राज्य लागीपरेको गृहमन्त्री रामबहादुर थापाले बताए ।
समाजमा लागु औषधका कारण विशेष गरि युवाहरु पीडित भएको उल्लेख गर्दै थापाले यसको नियन्त्रणको लागि सरकार र जनता मिलेर अगाडि बढ्नुपर्ने बताए । थापाले सरकार गठन भएपछि समृद्ध नेपाल र सुखी नेपाली अभियानअन्तर्गत महत्वपूर्ण काम भएको दाबी गरे ।
सरकार गठन अघि भएका चन्दा आतङ्क र विष्फोटका घटनामा कमी आएको भन्दै उनले एकाधिकार, भ्रष्टाचारजस्ता गतिविधि न्यून भएको बताए । गुण्डा प्रायजसो भूमिगत अवस्थामा छन्, तस्करी निस्तेज गरेर परिणाम राजश्वमा गुणात्मकरुपमा वृद्धि भएको छ ।” गृहमन्त्री थापाले निर्मला पन्त हत्या प्रकरणमा राजनीति भएको बताए ।
गृह प्रशासनले सुक्ष्म ढङ्गबाट अनुसन्धान गरिरहेको भए पनि घटनामाथि विभिन्न तरिकाले राजनीतिकरण भएको छ भने। पन्तको हत्या भएको भोलिपल्टै उच्चस्तरीय अनुसन्धान टोली त्यसतर्फ पठाइएको भन्दै गृहमन्त्री थापाले अपराधीलाई कानूनको कठघरामा ल्याउन गृहमन्त्रालय गम्भीर भएर अघि बढिरहेको जानकारी दिए।
छानबिन टोलीले बुझाएको प्रतिवेदनको निष्र्कषको आधारमा दोषीलाई कारवाही प्रक्रिया अघि बढाउने र अनुसन्धानलाई जारी राख्ने उनले बताए। यसअघि निर्मला पन्तजस्ता नारी बलात्कृत हुँदै आएको र ९५ प्रतिशत अपराधीलाई पक्राउ गर्न प्रहरी सफल भएको उनले बताए ।
उनले भने ३३ किलो सुन मात्रै नभएर चार हजार किलो सुन यो सरकार आउनु अघिदेखि तस्करी भइरहेको थियो भन्ने कुरा पत्ता लागेको छ । साना ठूला माछा जालमा आउन बाँकी रहेको भन्दै उहाँले जबसम्म तिनीहरु कानूनको कठघरामा आउँदैनन् तबसम्म अनुसन्धान चलिरहने बताए ।