सातै प्रदेशमा यात्रु सहायता कक्ष स्थापना गर्दै

645
views

काठमाडौं, असोज– १७ नेपालीको महान् पर्व दशैँ नजिकिएसँगै ट्राफिक प्रहरीले सातै प्रदेशका सवारीसाधन धेरै आवतजावत गर्ने विभिन्न जिल्लाका स्थानमा यात्रु सहायता कक्ष राख्न लागेको हो। प्रहरी प्रधान कार्यालय ट्राफिक निर्देशनालयका प्रहरी उपरीक्षक जनक भट्टराई चाडबाडमा यात्रुलाई सहज, सुरक्षित रुपमा गन्तव्यस्थलसम्म पुग्ने वातावरण बनाउन सातै प्रदेशमा यात्रु सहायता कक्ष स्थापना गर्न लागेको छ।

“लामो दूरीका सवारीसाधनमा दुईवटा चालक भए नभएको, ‘रिफ्रेस’ सेन्टरमा सवारीसाधन लगे नलगेको, चालकबाट सवारीसाधन चलाए नचलाएलगायतका जाँच गर्छौं”, उनले भने। त्यस्तै मादकपदार्थ सेवनबाट दुर्घटना धेरै हुने गरेको भन्दै ट्राफिक प्रहरीले देशभर दिउँसोको समयमासमेत मादक पदार्थ सेवन गरेको नगरेकोबारे परीक्षण गर्न लागेको छ। निर्देशनालयले देशभरका १४ सडकखण्डमा टाइम कार्डसमेत लागू गरिसकेको छ। टाइम कार्ड लागू हुँदा निश्चित समयमा गन्तव्यस्थलसम्म पुग्नुपर्ने भएकोले दुर्घटना न्यूनीकरण हुनेछ।
नागढुङ्गा–चितवन, बल्खु–हेटौँडा, काठमाडौँ–सिन्धुलीलगायतका क्षेत्रमा आउँदै गरेका पर्वलाई लक्षित गरेर थप जनशक्ति खटाइएको निर्देशनालयले जनाएको छ। लामो दूरीका सवारीसाधनलाई भने अनिवार्यरुपमा रिफ्रेस सेन्टरमा लिनुपर्ने व्यवस्था गरिएको छ।
काठमाडौंका १३ स्थानमा यात्रु सहायता कक्ष यसअघि नै स्थापना गरेर सेवा प्रदान गरिएको छ। कलंकी, स्वयम्भू, नयाँ बसपार्क, सातदोबाटो, गौशाला, चाबहिल, बल्खु, दक्षिणकाली, कोटेश्वर, सुन्धारा, बानेश्वर, पुरानो बसपार्क, नागढुङ्गा र जगातीमा यात्रु सहायता कक्ष स्थापना गरिसकिएको छ।
यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाखको हाराहारीमा सवारीसाधन सञ्चालनमा रहेका छन्। त्यीमध्ये काठमाडौं उपत्यकामा मात्र झण्डै १२ लाख सवारीसाधन रहेका छन्। महानगरीय ट्राफिक महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त चाडबाडलाई लक्षित गरेर महाशाखाले विभिन्न कार्यक्रम सञ्चालन गरेको बताउछन्।
महाशाखाले थानकोट, नागढुङ्गा, जगाती, फर्पिङ, बालाजुलगायतका नाकामा उपत्यका बाहिरिने सवारीसाधनलाई मापसे जाँच गर्ने, तीव्र गतिका सवारी चालकलाई कारवाही गर्ने र क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीसाधनलाई कारवाही गर्ने जनाएको छ।
यसैगरी टिकट काउण्टरमा सादा पोशाकमा प्रहरी परिचालन गर्ने, टिकट काउण्टरमा हुने ठगी नियन्त्रण, टिकटअनुसारको मूल्य भए नभएको हेर्ने, दोहोरो टिकट काट्नेलाई कारवाही गर्ने, नागढुङ्गामा सवारीसाधन बिग्रेर घण्टौँ हुने सवारी चापलाई हटाउन ४० टन क्षमताको क्रेन नागढुङ्गामा राख्ने भएको छ।
हाल देशभर ट्राफिक दरबन्दी २ हजार ४ सयको हाराहारीमा रहेकोमा काठमाडौं उपत्यकामा मात्र एक हजार ८५ रहेको छ । काठमाडौं, भक्तपुर र ललितपुरको ट्राफिक व्यवस्थापनको जिम्मा पाएको महानगरीय ट्राफिक प्रहरी महाशाखामा उक्त जनशक्ति रहेको हो।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला यात्रुलाई सहजरुपमा गन्तव्यस्थलसम्म पुर्या उनका लागि महासङ्घले सबै समिति तथा चालक सहचालकलाई निर्देशन दिइसकेको बताउँछन्। “सवारीसाधनलाई कमी हुन नदिनका लागि महासङ्घले नयाँ बस थप्ने योजना बनाएको छ”, उनले भने।
महाशाखाले यस वर्ष दशैँमा झण्डै २२ देखि २५ लाख यात्रु बाहिरिने भन्दै सोहीअनुसार ट्राफिक व्यवस्थापन मिलाएको जनाएको छ ।
उपत्यकाका सवारीसाधनको तुलनामा ट्राफिक जनशक्ति अपुग हो। उपत्यकामा एउटा ट्राफिक प्रहरीले एक हजारभन्दा बढी सवारीसाधनको व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको छ।