कञ्चनपुर प्रकरणः अनुसन्धानमा लापरवाही’ गर्ने दुई प्रहरी अधिकृत निलम्बित

776
views

काठमाडौं । प्रहरी प्रधान कार्यालयले दुई प्रहरी अधिकृतलाई निलम्बन गरेको छ । निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा दुईजना घटनास्थल अनुसन्धान अधिकृतलाई निलम्बन गरेको हो । प्रहरी नायव निरीक्षक हरसिंह धामी र प्रहरी जवान चाँदनी साउदलाई निलम्बन गरिएको प्रहरी मुख्यालयद्वारा सोमबार जारी विज्ञप्तिमा जनाइएको छ । प्रहरी जवान चाँदनी साउद सोसल मिडियामा भाइरल भएको भिडियोमा निर्मलाको कपडा पानीमा चोबलेर पखाल्दै गरेको देखिएकी थिइन् ।

विज्ञप्तिमा अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरूको भूमिका छानबिन गर्न गठित छानबिन समितिको सिफारिसमा निज प्रहरी अधिकारीहरूलाई प्रहरी नियमावली २०७१ को नियम ११५ को उपनियम ६ (क) र (ग) अनुसार निलम्बन गरिएको उल्लेख छ ।

उपनियम ६ क मा ’निलम्बन नगरी ओहोदाको काम गर्न दिँदा झुट्टा प्रमाण सङ्कलन गर्न सक्ने वा आफू विरुद्धको सवुद प्रमाण गायब वा नष्ट गर्न सक्ने देखिएमा’ भन्ने उल्लेख छ ।

यस्तै उपनियम ६ (ग) मा ’कुनै प्रहरी कर्मचारीले गरेको कार्यको कारणले निजलाई निलम्बन नगरे सङ्गठन भित्रका कर्मचारीहरूमा नैराश्यता, उत्तेजना आउने वा जनमानसमा नकारात्मक असर पर्नसक्ने वा प्रहरी सङ्गठनकै प्रतिष्ठामा आँच आउने भएमा’ भन्ने उल्लेख छ । उक्त प्रकरणमा यसअघि जिल्लाका एसपी डिल्लीराज विष्टसहित पाँचजना निलम्बनमा परिसकेका छन् ।