अमेरिकामा आँधीको विध्वंस

624
views

एजेन्सी । मध्यअमेरिकामा सय वर्षपछिकै शक्तिशाली आँधी आएको छ । माइकल नाम दिइएको आँधीले फ्लोरिडा, जर्जिया, अलाबामालगायतका क्षेत्रमा आपत्काल घोषणा गरिएको छ । २५० किलोमिटर प्रतिघन्टाको वेगमा आएको सो आँधीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति हराइरहेका छन् ।

तीव्र आँधीले ठाउँठाउँमा सामुद्रिक छाल उचालिँदा बाढीको जोखिम बढेको छ । आँधीले अकल्पनीय विनाश निम्त्याउने चेतावनी त्यहाँको आँधी तुफान केन्द्रले दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले आँधीप्रभावित क्षेत्रका केही व्यक्तिलाई सुरक्षित क्षेत्रमा स्थानान्तर गर्न कठिनाइ भएको बताएका छन् । ‘आर्थिक समस्याका कारण केही व्यक्तिलाई आफ्नो घर छाड्न सजिलो छैन । उनीहरूका लागि हामीले सवारीसाधन पठाएका छौँ ।’
गभर्नरको चेतावनी
फ्लोरिडा राज्यका गभर्नर रिक स्कटले आँधीले अकल्पनीय विध्वंस ल्याएको बताए । आँधी प्रवेश गरिसकेकाले घरभित्र रहेका मानिसहरूलाई बाहिर ननिस्कन उनले अनुरोध गरेका छन् । आँधीले फ्लोरिडाका दर्जनौँ स्कुल तथा कलेजमा क्षति पुगेको छ । प्रभावित राज्यका कार्यालयहरू यो साता बन्द रहनेछन् । फ्लोरिडा, अलाबामा र जर्जियामा आपत्कालीन स्थितिको घोषणा गरिएको छ । यी राज्यसँग सिमाना जोडिएका अन्य क्षेत्रमा पनि सावधानी दर्साउन सम्बन्धित राज्यका गर्भनरहरूले सर्वसाधारणलाई अनुरोध गरेका छन् । फ्लोरिडामा ३ लाख ७० हजारभन्दा बढी मानिसलाई आफ्नो ठाउँ छाड्न र उच्च स्थानमा गएर बस्न भनिएको छ ।

विनाशको खतरा
‘क्याटगोरी फोर’ वर्गीकरण गरिएको सो आँधीले फ्लोरिडा राज्यको प्यानह्यान्डल भनिने उत्तरपश्चिमी क्षेत्रमा सबभन्दा धेरै क्षति पुगेको छ । आँधीले ढलेको रुखले किचेर एक बालकसहित दुईको मृत्यु भएको छ । तीव्र गतिमा बहेको सो आँधी क्यारोलाइना राज्यतर्फ बढेको छ । सरकारले दिएको चेतावनीलाई बेवास्ता गर्दा केही क्षेत्रमा ठूलो मानवीय क्षति भएको अधिकारीहरूले बताएका छन् । आँधीका कारण फ्लोरिडाका हजारौँ घर र व्यापारगृह अन्धकारमय बनेका छन् ।